
उज्यालो न्यूज डटकम
कलैया, १८ भदौ ।कलैया उपमहानगरपालिका क्षेत्रमा अवैध घरेलु मदिराको ओसारपसार तथा बिक्री–वितरण नियन्त्रण गर्न प्रहरीले निगरानी र गस्तीलाई तीव्रता दिएको छ। यसैक्रममा अस्थायी प्रहरी पोस्ट बसपार्कका प्रहरी नायब निरीक्षक बिमलेस कुमार यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले २० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ।
नियमित गस्तीमा खटिएको प्रहरी टोलीले बुधबार बिहान करिब ८ बजे कलैया उपमहानगरपालिका–९ रामपुरस्थित टेङ्गरहर पुलबाट भवानीपुरबाट कलैयातर्फ ल्याउँदै गरेको अवस्थामा उक्त घरेलु मदिरा नियन्त्रणमा लिएको हो।
प्रहरी नायब निरीक्षक यादवको नेतृत्वमा खटिएको टोलीले शंकास्पद रूपमा लियाउदै गरिएको अवस्थामा चेक जाँच गर्दा करिब २० लिटर घरेलु मदिरा फेला पारेपछि नियन्त्रणमा लिएको जनाइएको छ। नियन्त्रणमा लिइएको घरेलु मदिरालाई आवश्यक प्रक्रिया पूरा गरी बिहीबार नष्ट गरिएको अस्थायी प्रहरी पोस्ट बसपार्कले जनाएको छ।


स्थानीय क्षेत्रमा अवैध रूपमा उत्पादन हुने घरेलु मदिराको बिक्री–वितरण तथा ओसारपसार नियन्त्रणका लागि प्रहरी पोस्ट बसपार्कले नियमित गस्ती तथा निगरानीलाई निरन्तरता दिएको छ। प्रहरीका अनुसार अवैध मदिराको कारोबारले सामाजिक विकृति तथा विभिन्न किसिमका आपराधिक गतिविधि बढाउन सक्ने भएकाले नियन्त्रण अभियानलाई प्रभावकारी बनाइएको हो।
प्रहरी नायब निरीक्षक बिमलेस कुमार यादवको नेतृत्वमा प्रहरी टोलीले नियमित गस्ती तथा चेकजाँचलाई प्राथमिकता दिँदै आएको जनाइएको छ। कार्यक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको र आगामी दिनमा समेत निगरानीलाई थप कडाइ गरिने प्रहरीले जनाएको छ।
प्रहरीले अवैध रूपमा घरेलु मदिरा उत्पादन, ओसारपसार तथा बिक्री–वितरण भइरहेको जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।



