
बारा । बाराको विश्रामपुर गाउँपालिकामा ई–रिक्सा चार्जबाट निकाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा विश्रामपुर गाउँपालिका–२, कान्तिपुर टोलका अन्दाजी ४५ वर्षीय विवाहित शर्मा पटेल रहेका छन्।
प्रहरीका अनुसार मंगलबार (२०८३ साल भदौ १६ गते) करिब विहान ४ बजे आफ्नै घरअगाडि चार्जमा राखिएको मधेश प्रदेश ०३–०२ ह २३६८ नम्बरको ई–रिक्सा चार्जबाट निकाल्ने क्रममा पटेललाई बायाँ हातमा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनलाई तत्काल उपचारका लागि एलएस न्यूरो अस्पताल, बारामा लगिएको थियो।
अस्पतालमा चिकित्सकले ECG लगायत स्वास्थ्य परीक्षण गर्दा पटेललाई मृत घोषणा गरेका थिए। घटनाबारे अस्पतालको प्रहरी सम्पर्कमार्फत बिहान करिब ६ः०४ बजे इलाका प्रहरी कार्यालय छतवा, बारामा जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बिहान ८ः२० बजे मृतकको शव मुचुल्का पश्चात् पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारा पठाएको थियो। शव बिहान ८ः४० बजे प्रादेशिक अस्पताल कलैयामा पुगेको प्रहरीले जनाएको छ।
पोस्टमार्टम प्रक्रिया पूरा भएपछि बिहान करिब ९ः३० बजे मृतकका भाइ अमोद पटेलले शव बुझी लगेको प्रहरीले जनाएको छ।घटनाबारे इलाका प्रहरी कार्यालय छतवा, बाराले थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाएको छ।



