
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित केडिया आँखा अस्पताल अगाडि ईभी गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ।
मंगलबार (२०८३ साल भदौ १६ गते) दिउँसो करिब १२ः३० बजेको समयमा वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०९०१ नम्बरको ईभी गाडीले बाटो काट्ने क्रममा पैदलयात्री बालक महमम्द ईशानलाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार दुर्घटनामा परि घाइते भएको उक्त बालक भारतको मोतिहारी जिल्ला निवासी महम्मद गुफानका करिब ७ वर्षीय छोरा महम्मद ईशान गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेपछि तत्काल उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो।
अस्पतालमा बालकको उपचार भइरहेको अवस्थामा उनका हजुरबुबा अब्दुल कुदुस अंसारी उपचारमा संलग्न रहेका थिए। तर, दिउँसो २ः०८ बजे चिकित्सकले ईसीजी परीक्षणपछि बालकको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय परवानीपुर, बाराबाट प्रहरी नायब निरीक्षक बालराज गिरीको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले दुर्घटनामा संलग्न ईभी गाडी र चालक पर्साको वीरगन्ज महानगरपालिका–३२ निवासी ध्यान हजराका करिब २६ वर्षीय छोरा लक्षुमन पासवानलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय परवानीपुरमा राखेको जनाएको छ।
मृतक बालकको शव बयोधा अस्पतालमा राखिएकोमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी दिउँसो ५ः१५ बजे शव मुचुल्का पश्चात पोस्टमार्टमका लागि नारायणी अस्पताल, पर्सा पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



