भोटेकोशी बाढी प्रम्भावितबाट मृत्यु भएको शबलाई व्यवस्थापन र पहिचानका लागि नेपाल प्रहरीको कानुनी तथा कार्यगत तयारी

काठमाडौं । सम्भावित भोटेकोशी बाढी तथा अन्य ठूला विपद्का घटनामा ठूलो संख्यामा मानवीय क्षति भएमा मृतकको सबलाई सम्मानजनक व्यवस्थापन तथा पहिचानलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले डेड बडी म्यानेजमेन्ट (DBM) तथा डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन (DVI) सम्बन्धी कानुनी तथा कार्यगत आधारलाई अघि सारेको छ । नेपाल प्रहरीद्वारा तयार पारिएको ‘DBM/DVI – Legal & Operational Framework’ मा विपद्पछि मृतकको व्यवस्थापन, पहिचान, परिवारको अधिकार, जनस्वास्थ्य सुरक्षा, अन्तरनिकाय समन्वय तथा प्रमाणको कानुनी वैधतालाई प्राथमिकतामा राखिएको छ ।
फ्रेमवर्कमा नेपालको संविधान २०७२, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४, नेपाल प्रहरी ऐन, २०१२, नेपाल नागरिक उड्डयन ऐन, २०५३ तथा नियमावली, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, गृह मन्त्रालयको मृतक शव व्यवस्थापन निर्देशिका, २०७७ तथा पहिचान नभएका/बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ लगायतका राष्ट्रिय कानुनी तथा नीतिगत व्यवस्थालाई आधारका रूपमा समेटिएको छ।
त्यस्तै, अन्तर्राष्ट्रियस्तरमा विश्व स्वास्थ्य संगठन (WHO) को Management of Dead Bodies after Disasters (2006), International Health Regulations (2005), अन्तर्राष्ट्रिय रेडक्रस समिति (ICRC) को Guiding Principles on Dignified Management of the Dead (2021) तथा INTERPOL को Disaster Victim Identification (DVI) Guide लाई मार्गदर्शनका रूपमा उल्लेख गरिएको छ । उड्डयनसँग सम्बन्धित घटनामा ICAO Annex 9 (Facilitation), IATA Live Animals & Perishables Regulations (LAR) तथा IATA Compassionate Travel Manual (CTM) लगायतका अन्तर्राष्ट्रिय मापदण्डलाई समेत समेटिएको छ ।
फ्रेमवर्कअनुसार विपद्मा ठूलो संख्यामा मृत्यु भएमा मृतकको मर्यादा र गरिमा संरक्षण, वैज्ञानिक पहिचान, अन्तरनिकाय समन्वय र जवाफदेहिता, परिवारको अधिकार तथा सूचनामा पहुँच, जनस्वास्थ्य सुरक्षा, कानुनी प्रक्रिया र प्रमाणको वैधता तथा अन्तर्राष्ट्रिय सहयोग र मानवीय मापदण्डलाई मुख्य आधार बनाइनेछ ।
नेपाल प्रहरीले तयार पारेको उक्त संरचनाले सम्भावित भोटेकोशी बाढीजस्ता बहुपक्षीय तथा ठूलो मानवीय क्षति हुनसक्ने विपद्मा मृतकको व्यवस्थापन र पहिचानलाई व्यवस्थित, वैज्ञानिक तथा मानवीय ढंगबाट अघि बढाउने उद्देश्य राखेको देखिन्छ ।
फ्रेमवर्कमा विशेषगरी मृतकको पहिचानका क्रममा वैज्ञानिक प्रमाणको प्रयोग, सम्बन्धित निकायबीच समन्वय र परिवारलाई आवश्यक सूचना उपलब्ध गराउने विषयलाई महत्व दिइएको छ । यसबाट विपद्पछि उत्पन्न हुनसक्ने पहिचानसम्बन्धी जटिलता तथा शव व्यवस्थापनमा हुने अव्यवस्थालाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल प्रहरीले मृतकप्रति सम्मान, परिवारप्रति संवेदना, समाजप्रति उत्तरदायित्व” भन्ने मूल भावनासहित तयार गरिएको यो संरचना नेपाल प्रहरीको विपद् प्रतिकार्यमा मानवीय संवेदना र कानुनी प्रक्रियालाई समान रूपमा प्राथमिकता दिने प्रयासका रूपमा देखिएको छ।



