
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ टाङयाबस्तीका ५५ वर्षीय गुरु फुयाल भन्ने रेवती फुयाल जंगलमा पाडो (राँगा) खोज्न गएको अवस्थामा बेपत्ता भएका छन्।
भवनाथ फुयालका छोरा रेवती फुयालले भदौ १२ गते जंगलमा चराउन लगेको पाडो हराएपछि त्यसको खोजीका लागि भदौ १३ गते बिहान करिब ५ः३० बजे घरबाट जंगलतर्फ गएको परिवारले जनाएको छ। तर, लामो समयसम्म घर नफर्किएपछि आफन्तले उनको खोजी सुरु गरेका थिए।
रेवतीका सालो कृष्णप्रसाद मैनालीले सोही दिन साँझ करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय निजगढ, बारामा घटनाबारे जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक दाताराम अधिकारीको कमाण्डमा १० जनाको प्रहरी टोली परिचालन गरी जंगल क्षेत्रमा खोज तथा तलासी कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बेपत्ता रेवती फुयालको हुलिया गहुँगोरो वर्ण, कालो कपाल, हरियो टिसर्ट र खुट्टामा चप्पल लगाएको रहेको छ। प्रहरी तथा स्थानीयको टोलीले जंगल आसपासका सम्भावित क्षेत्रमा खोजी कार्य जारी राखेको छ। प्रहरीले रेवती फुयालबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा उनका सालो कृष्णप्रसाद मैनालीको मोबाइल नम्बर ९८५५०८६०३१ मा जानकारी गराइदिन आग्रह गरेको छ।



