रसुवा–नुवाकोटसहितका जिल्लामा बाढीको जोखिम, उद्धारमा सहयोग गर्न विपद् प्राधिकरणको विशेष अनुरोध

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र चितवन जिल्लाका विभिन्न क्षेत्र प्रभावित भएका छन्। बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले बुधबार विशेष अनुरोध जारी गर्दै बाढी प्रभावित जिल्लामा उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। विशेषगरी खोज तथा उद्धारका लागि आवश्यक हेलिकोप्टर तथा ड्रोन सञ्चालन गर्ने संघ–संस्था तथा सम्बन्धित सबै पक्षलाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी उद्धार कार्यमा सहयोग गर्न प्राधिकरणले अनुरोध गरेको हो।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धारको पर्खाइमा रहेका व्यक्तिहरूले आफ्नो अवस्थाबारे उद्धार टोलीलाई जानकारी गराउन आवश्यक सावधानी अपनाउनुपर्नेछ। उद्धारको पर्खाइमा रहेका व्यक्तिहरूले आफू रहेको स्थानमा आगो बाली धुवाँ निकालेर वा अन्य सुरक्षित संकेतमार्फत उद्धार टोलीको ध्यानाकर्षण गराउन अनुरोध गरिएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप व्यवस्थित बनाउन प्राधिकरणले सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहसँग निरन्तर समन्वय गर्न समेत आग्रह गरेको छ।
प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित जिल्लामा उद्धार कार्यका लागि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित सुरक्षा निकायका सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार आपत्कालीन अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका सम्पर्क नम्बरमा खबर गरी तत्काल उद्धारका लागि समन्वय गर्न सकिनेछ। प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन, जोखिमपूर्ण नदी तथा खोलाको किनारमा नजान र उद्धार टोलीको निर्देशन पालना गर्न आग्रह गरेको छ।



