खेतमा मोटरबाट पानी निकाल्ने क्रममा करेन्ट लागेर ३२ वर्षीय युवकको मृत्यु

बारा – बाराको सिम्रौनगढ नगरपालिका–३ नयाँकटोलमा खेतमा मोटरबाट पानी निकाल्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–३ नयाँकटोला निवासी रामईश्वर दासका छोरा अन्दाजी ३२ वर्षीय विजय दास रहेका छन्।
प्रहरीका अनुसार बुधबार साँझ करिब ५ बजे आफ्नै खेतमा मोटरबाट पानी निकाल्ने क्रममा दासलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिम्रौनगढस्थित धर्मलाल क्लिनिक लगिएको थियो।
तर, उक्त क्लिनिकमा पुर्याउनासाथ साँझ ५ः२० बजे चिकित्सकले दासलाई मृत घोषणा गरेका थिए। घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेकका थिए।
प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरी घटनाबारे आवश्यक अनुसन्धान थालेको जनाएको छ। साँझ ७ः४५ बजे मुचुल्का कार्य सम्पन्न भएपछि मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा पठाईएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।



