सामाजिक उत्तरदायित्वअन्तर्गत एनएमबी बैंकद्वारा विद्यालयलाई भौतिक समाग्री हस्तान्तरण

बारा – सामाजिक उत्तरदायित्वअन्तर्गत एनएमबी बैंक कलैया शाखाले बाराको महागढीमाई नगरपालिका–७ तेकुवास्थित मुसहरी टोलमा रहेको श्री नेपाल राष्ट्रिय विद्यालयलाई विभिन्न आवश्यक सामग्री हस्तान्तरण गरेको छ। विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधारमा सहयोग पुर्याउने उद्देश्यले बैंकले विद्यालयलाई झ्यालका ढोका, ग्रिल, गेटका ढोका तथा सेलिङ पंखालगायतका सामग्री हस्तान्तरण गरेको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा एनएमबी बैंक मधेस प्रदेश प्रमुख दिपेन्द्र मिश्रले विद्यालयका प्रधानाध्यापक राजकिशोर प्रसाद यादवलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए। बैंकले विद्यालयका लागि झ्यालका ढोका ६ थान, ग्रिल १ थान, गेटका ढोका २ थान तथा सेलिङ पंखा २ थान उपलब्ध गराएको जनाइएको छ। सामग्री हस्तान्तरण गर्दै मधेस प्रदेश प्रमुख मिश्रले बैंकले आफ्नो व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको बताए। विद्यालय तथा समुदायको आवश्यकता पहिचान गरी शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा सहयोग गर्दै जाने बैंकको उद्देश्य रहेको उनको भनाइ थियो।

विद्यालयका प्रधानाध्यापक यादवले बैंकले विद्यालयको आवश्यकता बुझेर उपलब्ध गराएको सामग्रीले विद्यार्थीको पठनपाठन तथा विद्यालयको भौतिक व्यवस्थापनमा सहयोग पुग्ने बताए। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सहयोगका लागि एनएमबी बैंकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरे।
मुसहरी टोलमा रहेको विद्यालयमा आवश्यक भौतिक संरचना तथा सामग्रीको अभावका कारण पठनपाठनमा समेत समस्या हुने गरेको अवस्थामा बैंकको सहयोगले विद्यालयलाई प्रत्यक्ष लाभ पुग्ने स्थानीयको भनाइ छ। विशेषगरी झ्याल तथा गेटका ढोका र पंखालगायतका सामग्रीले विद्यालयको वातावरणलाई थप व्यवस्थित र विद्यार्थीमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा एनएमबी बैंकका क्षेत्रीय प्रबन्धक राजेश प्रसाद, कलैया शाखा प्रमुख अनिल सार्फ, कलैया शाखाका सम्बन्ध प्रमुख संजीव कुमार यादव, महागढीमाई नगरपालिकाका शिक्षा शाखा प्रमुख रामविश्वश चौरसिया, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत बैंक तथा विद्यालय परिवारका प्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो।
एनएमबी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत समुदायको आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। विद्यालयलाई गरिएको उक्त सहयोगले ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका बालबालिकाको शिक्षामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।



