राष्ट्रियसमाचारसूचना-प्रविधि

भोटेकोशीमा ठूलो बाढी, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

काठमाडौं –  रसुवामा तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले बुधबार विशेष सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्म भोटेकोशी, त्रिशूली तथा नारायणी नदीको तटीय क्षेत्रमा रहेका सम्पूर्ण नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा जान प्राधिकरणले आग्रह गरेको छ। साथै, खोज तथा उद्धारको आवश्यकता परेमा वा कुनै किसिमको सहायता आवश्यक भएमा सम्बन्धित निकायको टोल फ्री नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्राधिकरणका अनुसार आपत्कालीन अवस्थामा टोल फ्री नम्बर १००, १२३४ र १११४ मा सम्पर्क गर्न सकिनेछ।
यसैगरी, सम्भावित जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न तथा नगराउन र ती क्षेत्रमा आवतजावतमा पूर्ण रोक लगाउन स्थानीय तह एवं प्रशासनलाई प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले विपद्को समयमा खोज, उद्धार तथा राहत कार्यमा समन्वय, सहयोग र सहजीकरण गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा यस्तो आग्रह गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button