महोत्तरीमा जशन–ए–ईद मिलादुन्नबी कार्यक्रम सम्पन्न

महोत्तरी – इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.) को १५०१औँ जन्मजयन्तीको अवसरमा महोत्तरीको शमसी गाउँपालिकाको मुख्य बजारमा जशन–ए–ईद मिलादुन्नबी कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम मधेश प्रदेशका पूर्वमुख्यमन्त्री एवं माननीय सरोजकुमार यादवको प्रमुख आतिथ्य तथा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री माननीय महमद समीरको विशिष्ट आतिथ्यमा आयोजना गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले सामाजिक सद्भाव, आपसी भाइचारा, धार्मिक सहिष्णुता र शान्तिको सन्देश प्रवाह गर्दै मर्यादित एवं शान्तिपूर्ण रूपमा ईद मिलादुन्नबीको खुसी साटासाट गरेका थिए।

विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्दै भौतिक पूर्वाधार विकासमन्त्री महमद समीरले समाजको समग्र विकासका लागि शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले शिक्षाले व्यक्तिको चेतनाको स्तर वृद्धि गर्नुका साथै समाजमा सकारात्मक सोच, अनुशासन, सहिष्णुता र आपसी सम्मानको भावना विकास गर्ने उल्लेख गर्नुभयो।
मन्त्री समीरले पैगम्बर हजरत मोहम्मद (स.) का शिक्षाले मानवता, शान्ति, भाइचारा र सद्भावको सन्देश दिने बताउँदै ती मूल्य–मान्यतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा मुस्लिम समुदायका अगुवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले एकअर्काबीच शुभकामना आदानप्रदान गर्दै सामाजिक एकता र भाइचारालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
उत्साहपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण र मर्यादित रूपमा जन्मजयन्ती मनाइएको आयोजकले जनाएको छ।



