ज्ञान सरोबरका छात्रछात्राहरु मन्त्री समीर सङ्ग शिक्षा र सुरक्षाको गरे माङ्ग।

कलैया – कलैया उपमहानगरपालिका–६ स्थित ज्ञान सरोबर इङ्ग्लिस स्कुलमा कक्षा ९ र १० मा अध्ययनरत छात्रछात्राले मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री महमम्द समीरसँग जनकपुरधाममा स्थित उनको कार्यकक्षमा भेटघाट तथा अन्तरक्रिया गरेका छन्।
भेटघाट तथा अन्तरक्रिया क्रममा विद्यार्थीहरूले मधेस प्रदेशको शिक्षा क्षेत्रको अवस्था, गुणस्तरीय शिक्षा तथा छात्राहरूको सुरक्षा लगायतका विषयमा मान्त्री समीरको ध्यानाकर्षण गराएका थिए।

विद्यार्थीहरूले मधेस प्रदेशमा शिक्षाको गुणस्तर सुधारका लागि प्रदेश सरकारले थप प्रभावकारी कार्यक्रम तथा लगानी गर्नुपर्ने बताएका थिए। विशेषगरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीले समेत गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्न उनीहरूले आग्रह गरेका थिए।

त्यसैगरी छात्राहरूले मधेस प्रदेशमा छात्राहरूको सुरक्षाको विषय गम्भीर रहेको भन्दै विद्यालय तथा सार्वजनिक स्थानमा सुरक्षित वातावरण निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए। छात्राहरूले महिला तथा बालिकामाथि हुने हिंसा, दुर्व्यवहार तथा असुरक्षाका घटनालाई न्यूनीकरण गर्न प्रभावकारी सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका थिए।
विद्यार्थीहरूको जिज्ञासा तथा सुझावको जवाफ दिँदै मन्त्री समीरले मधेस प्रदेश सरकार सबै प्रदेशवासीको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए। सरकारको दायित्व कुनै एक वर्ग वा समूहको मात्र नभई सम्पूर्ण प्रदेश वासीको सुरक्षाको सुनिश्चित गर्नु रहेको उनको भनाइ थियो
मन्त्री समीरका अनुसार प्रदेश सरकारले शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम सञ्चालन गरिरहेको विद्यार्थीहरूलाई जानकारी गराए। प्रदेशको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको सुधार अपरिहार्य रहेको उल्लेख गर्दै उनले विद्यार्थीहरूलाई अध्ययन सँगै समाज र प्रदेशको विकासका विषयमा पनि चासो राखेकोमा उनले खुशी व्यक्त गरेका छ्न।।
अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले प्रदेश सरकारका विकास निर्माण तथा जनसरोकारका विषयमा समेत जिज्ञासा राखेका थिए। मन्त्री समीरले विद्यार्थीहरूले उठाएका सवाललाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा पनि युवापुस्तासँग प्रत्यक्ष संवाद र अन्तरक्रियालाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।
भेटघाटका क्रममा ज्ञान सरोबर इङ्ग्लिस स्कुलका प्रधानाध्यापक श्याम केसरी तथा विद्यालयका विद्यार्थीहरूले मन्त्री समीरलाई मायाको चिनो प्रदान गर्दै खादा लगाएर सम्मान गरेका थिए। सम्मान तथा स्वागतका लागि प्रधानाध्यापक केसरीसहित विद्यालय परिवारलाई मन्त्री समिरले ध्यानयबाद व्यक्त गरे।




