राष्ट्रियसमाचारस्थानीय

नाबालिका मृत्यु प्रकरणमा ९ जना पक्राउ, अपहरणदेखि कर्तव्य ज्यानसम्मका मुद्दामा अनुसन्धान हुँदै।

बारा –  बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरस्थित खाली घरमा नाबालिका मृत अवस्थामा फेला परेको घटनामा बारा प्रहरीले ९ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय, बाराले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ भदौ २ गते जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरस्थित खाली घरमा नाबालिका मृत अवस्थामा फेला परेको घटनाका सम्बन्धमा प्रहरीले अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरी विभिन्न व्यक्तिलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का २४ वर्षीय प्रोग्रेसर भनिने प्रुग्रेस चौधरी, हाल परिवर्तित नाम–३३ बाराका १६ वर्षीय नवरस्ती (क), ऐ.ऐ. बस्ने ५० वर्षीय इन्द्रजित चौधरी, २५ वर्षीय पुष्पा चौधरी, २६ वर्षीय ममता चौधरी, ४५ वर्षीय शेख हस्मुद्दिन आलम, ४० वर्षीय टेक बहादुर थापा मगर, वडा नं. २ बस्ने ३३ वर्षीय नविन विक र हाल परिवर्तित नाम–३३ बाराका १४ वर्षीय छोटिमाई (क) रहेका छन्।

प्रहरीको प्रेस विज्ञप्तिअनुसार पहिलो र दोस्रो व्यक्तिलाई २०८३ भदौ २ गते पक्राउ गरिएको हो। त्यसैगरी इन्द्रजित चौधरी, पुष्पा चौधरी, ममता चौधरी, शेख हस्मुद्दिन आलम, टेकबहादुर थापा मगर र नविन विकलाई २०८३ भदौ ६ गते पक्राउ गरिएको छ। हाल परिवर्तित नाम–३३ बाराका १४ वर्षीय छोटिमाई (क) लाई भने २०८३ भदौ ७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूमाथि अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकालाई बारा जिल्ला अदालत, कलैयाबाट पहिलो पटक चार दिन र दोस्रो पटक पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ। नाबालिका मृत अवस्थामा फेला परेको घटनापछि प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिको भूमिकासमेत अनुसन्धानको दायरामा राखिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेद्वारा जारी विज्ञप्तिमा घटनासम्बन्धी अनुसन्धान जारी रहेको उल्लेख छ। प्रहरीले अनुसन्धानका क्रममा प्राप्त प्रमाण, बयान तथा अन्य तथ्यका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button