राष्ट्रियसमाचारस्थानीय

संवेदनशील बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी हवल्दार पक्राउ

बारा –  जितपुरसिमरा उपमहानगरपालिका–१, दुसधाराकी तीन वर्षीय गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा आरोपितको संवेदनशील बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।

अस्पतालस्थित ओसीएमसी कक्षमा अनुसन्धानका क्रममा रेकर्ड गरिएको आरोपितको बयान सामाजिक सञ्जालमा सार्वजनिक भई भाइरल बनेपछि प्रहरीले घटनाको आन्तरिक छानबिन थालेको थियो। छानबिनका क्रममा उक्त भिडियो सार्वजनिक गर्ने कार्यमा प्रहरीकै कर्मचारीको संलग्नता रहेको खुलेपछि बारा प्रहरीले हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएको जनाएको छ।

अनुसन्धानका लागि संवेदनशील मानिने बयानको भिडियो बाहिरिएपछि प्रहरीको गोपनीयता व्यवस्थापन र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठेको थियो। विशेषगरी पीडित बालिकासँग सम्बन्धित संवेदनशील विषय सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको थियो।

प्रहरीका अनुसार पक्राउ परेका हवल्दार विकमाथि विभागीय छानबिनसँगै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। भिडियो कसरी बाहिरियो, त्यसमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा समेत थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button