
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका निवासी विद्यार्थी प्रदीप खड्का रहेका छन्। उनलाई प्रहरीले गएराति आइतबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो।
घरबाट हराएको तीन दिनपछि गत भदौ २ गते गरिमा मृत अवस्थामा फेला परेकी थिइन्। नाबालिकाको मृत्यु भएको घटनापछि प्रहरीले अनुसन्धानलाई प्राथमिकतामा राख्दै सम्भावित संलग्न व्यक्तिहरूमाथि निगरानी र सोधपुछलाई तीव्र बनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार खड्कालाई पक्राउ गरेसँगै घटनाको अनुसन्धानका क्रममा हालसम्म ९ जना प्रहरी नियन्त्रणमा रहेका छन्। उनीहरूमाथि घटनासँग सम्बन्धित विषयमा अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले विभिन्न दृष्टिकोणणबाट अनुसन्धान अघि बढाइरहेको जनाएको छ। प्रहरीले अनुसन्धान प्रभावित हुने गरी कुनै पनि किसिमका अपुष्ट सूचना तथा सामग्री सार्वजनिक नगर्नसमेत आग्रह गरेको छ।



