
बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका १६ वर्षीय नाबालिक आरोपितको गोप्य भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अनुसन्धान प्रक्रियाको गोपनीयता र संवेदनशीलता माथि प्रश्न उठेको छ।
स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्शका लागि प्रादेशिक अस्पताल कलैयास्थित लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) कक्षमा बनाएको नाबालिक आरोपितको भिडियो आइतबार रातिदेखि सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको हो। उक्त भिडियोमा प्रहरी नियन्त्रणमा रहेका तथा हतकडी लगाइएका नाबालिक आरोपितले घटनामा आफ्नो संलग्नतासँगै ‘प्रदीप खड्का’ नाम गरेका अर्का व्यक्तिको समेत संलग्नता रहेको दाबी गरेको सुनिन्छ। यद्यपि, भिडियोमा गरिएको दाबीको आधिकारिक पुष्टि भने भइसकेको छैन।
ओसीएमसीमा स्वास्थ्य परीक्षण तथा परामर्शका क्रममा हुने गतिविधि संवेदनशील हुने भएकाले त्यहाँ अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ हुने व्यवस्था छ। यस्तो अवस्थामा गोप्य रूपमा खिचिएको भिडियो बाहिरिएपछि अस्पताल तथा सुरक्षा निकायभित्रकै कुनै व्यक्तिबाट भिडियो बाहिरिएको हुन सक्ने आशंका गरिएको छ। घटना सार्वजनिक भएपछि प्रादेशिक अस्पताल कलैयामा यस विषयमा छानबिनका लागि आकस्मिक बैठकसमेत बोलाइएको छ। भिडियो कसरी खिचियो, कसले बाहिर ल्यायो र सामाजिक सञ्जालमा कसरी फैलियो भन्ने विषयमा अस्पताल प्रशासनले समेत चासो देखाएको छ।
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले स्वास्थ्य परीक्षणका क्रममा खिचिएको भिडियो बाहिरिएको पुष्टि गर्दै यसको स्रोत र उद्देश्यबारे गम्भीर अनुसन्धान भइरहेको बताएका छन्। नाबालिक आरोपितसँग सम्बन्धित भिडियो सार्वजनिक हुनु बाल न्याय, अनुसन्धानको गोपनीयता तथा पीडित र आरोपित दुवैको अधिकारका दृष्टिले संवेदनशील विषय भएकाले घटनाको अनुसन्धानसँगै भिडियो सार्वजनिक गर्ने व्यक्तिको पहिचान र भूमिकामाथि समेत छानबिन आवश्यक देखिएको छ।
गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणले यसअघि नै स्थानीयस्तरमा ठूलो आक्रोश र तनाव सिर्जना गरेको थियो। यस्तो संवेदनशील घटनामा अनुसन्धानका क्रममा प्राप्त सामग्री तथा बयान सार्वजनिक हुँदा अनुसन्धान प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकायले थप सावधानी अपनाउनुपर्ने देखिन्छ।



