
बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया नाबालिका गरिमा चौधरीको हत्या भएको घटनालाई लिएर चर्किएको विरोध तथा आन्दोलन पाँचबुँदे सहमतिपछि तत्कालका लागि बिरोध तथा आन्दोलनका सम्पुर्ण कार्यक्रम स्थगित भएको छ।
भदौ २ गते भएको घटनापछि पीडित परिवारसहित स्थानीय बासिन्दा, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न पक्षले दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका थिए। आन्दोलनरत पक्ष र जिल्ला सुरक्षा समिति, बाराबीच बिहीबार राति पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा भएको लामो छलफलपछि पाँचबुँदे सहमति जुटेको हो।सहमतिको पहिलो बुँदामा पीडित परिवारलाई उचित राहत उपलब्ध गराउनुका साथै रोजगारीको व्यवस्था गर्न स्थानीय तहको सहभागितामा गृह मन्त्रालयसमक्ष आवश्यक पहल तथा सिफारिस गर्ने उल्लेख छ।
त्यस्तै, घटनामा संलग्न भएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका व्यक्तिमाथि भइरहेको अनुसन्धानलाई निष्पक्ष र प्रभावकारी रूपमा अघि बढाउने तथा अनुसन्धानका क्रममा अन्य व्यक्तिको समेत संलग्नता पुष्टि भए उनीहरूमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने सहमति भएको छ।घटनापछि जिल्लाको सुरक्षा व्यवस्थामाथि उठेका प्रश्नलाई समेत सहमतिमा समेटिएको छ।
वर्तमान सुरक्षा अवस्थाको समीक्षा गर्दै भविष्यमा हुन सक्ने सुरक्षा चुनौतीको विश्लेषण गरी जिल्लामा भरपर्दो र प्रभावकारी सुरक्षा वातावरण कायम गर्ने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिने भएको छ।यसैगरी, इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा घटनाको समयमा आवश्यक सुरक्षा सतर्कता तथा जिम्मेवारी निर्वाहमा लापरबाही गरेको आरोप लागेका सुरक्षाकर्मीमाथि छानबिन गरी आवश्यक कारबाही गर्ने विषयमा पनि सहमति भएको छ। पीडित पक्षका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइएपछि आन्दोलनरत पक्षले तत्कालका लागि आफ्ना विरोधका कार्यक्रम स्थगित गरेको हो। सहमतिपछि तत्काल सडक आन्दोलन र विरोधका कार्यक्रम रोकिएको छ।
नाबालिका गरिमा चौधरीको हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान, वास्तविक दोषीको पहिचान, कडा कानुनी कारबाही र पीडित परिवारले न्याय पाउनुपर्ने माग भने कायमै राखेको छ।




