राष्ट्रियसमाचारस्थानीय

भन्सार छली गरि ल्याइएका करिब ९१ हजारका बराबरका सामान प्रहरीले लियो नियन्त्रणमा

बारा — बाराको सिम्रौनगढ नगरपालिका–६ स्थित सीमा क्षेत्रमा भन्सार छली चोरी–पैठारी गरी नेपालतर्फ ल्याउँदै गरिएका करिब ९० हजार ९ सय ५० रुपैयाँ मूल्य बराबरका विभिन्न सामान तथा सवारीसाधन प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ साल साउन ३१ गते बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी कचोर्वा, श्रीनगर बैरिया, बाराबाट खटिएको प्रहरी गस्ती टोलीले सिम्रौनगढ नगरपालिका–६ क्षेत्रमा भारतबाट नेपालतर्फ विभिन्न सामान भन्सार छली चोरी–पैठारी गरी ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीलाई देखेपछि सामान ल्याइरहेका व्यक्तिहरू सामान बाटोमै छाडेर भारततर्फ भागेको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले बेवारिसे अवस्थामा छाडिएका सामानहरू बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगन्ज, पर्सा पठाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार बरामद भएका सामानमा नवरत्न तेल ५ प्याकेट, डुनोट चकलेट ११ डिब्बा, जामुन मिठाई ६ डिब्बा, चोकोस्टार चकलेट १ प्याकेट, तथथ टुथ ब्रस २२ पत्ता, नितिस्टर चकलेट ७ प्याकेट र लभ स्टोरी चकलेट ११ डिब्बा रहेका छन्।

त्यस्तै, भन्सार छलीमा प्रयोग भएको ना.९ प ८९५९ नम्बरको मोटरसाइकल १ थानसाइकल २ थान समेत प्रहरीले बरामद गरेको छ। यसरी बरामद भएका सबै सामान तथा सवारीसाधनको कुल मूल्य रु. ९०,९५० (नब्बे हजार नौ सय पचास रुपैयाँ) रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

सीमा क्षेत्रमा हुने अवैध चोरी–पैठारी तथा भन्सार छली नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएको जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएकाले सम्बन्धित निकायबाट कानुनबमोजिम कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेद्वारा जारी प्रेस  विज्ञप्तिमा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न बारा प्रहरीले गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको उल्लेख रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button