
बारा – कलैया उपमहानगरपालिका–१, सोनारपट्टी रोडस्थित जीवन ज्योति बचत तथा ऋण सहकारी संस्थाले मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री महमम्द समिरलाई स्वागत तथा सम्मान गरेको छ।
आइतबार बिहान सहकारी संस्थाको परिसरमा आयोजित कार्यक्रममा मन्त्री समिरलाई संस्थाका अध्यक्ष दिलिप चौधरीले दोसल्ला ओढाएर स्वागत तथा सम्मान गर्नु भएको थियो ।कार्यक्रममा जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहसहित जीवन ज्योति बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, पदाधिकारी, शेयर सदस्य तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
स्वागत कार्यक्रममा बोल्दै मन्त्री समिरले जीवन ज्योति बचत तथा ऋण सहकारी संस्थाको निरन्तर प्रगति, सफल सञ्चालन र संस्थागत विकासको शुभकामना व्यक्त गरे।
उनले संस्थाप्रति विश्वास गर्दै आबद्ध भएका सम्पूर्ण शेयर सदस्य तथा सञ्चालक समितिलाई धन्यवादसमेत दिए।
मन्त्री समिरले सहकारी संस्थाले सदस्य तथा सर्वसाधारणबाट संकलन गरेको बचतलाई सुरक्षित र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए। जनताको मेहनतको कमाइका रूपमा रहेको बचतलाई सही ठाउँमा सदुपयोग गर्दै आर्थिक गतिविधि विस्तार र रोजगारी सिर्जनामा योगदान पुर्याउन उनले सञ्चालक समितिलाई सुझाव दिनु भएको थियो।
उनले सहकारी संस्था केवल बचत संकलन र ऋण प्रवाह गर्ने संस्थाका रूपमा मात्र सीमित नभई सदस्यको आर्थिक तथा सामाजिक जीवनस्तर सुधारमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। सहकारीको पारदर्शिता, जिम्मेवार वित्तीय व्यवस्थापन र सदस्यको हितलाई प्राथमिकतामा राखेर अघि बढेमा संस्थाप्रति सदस्य तथा समुदायको विश्वास अझ मजबुत हुने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले पनि स्थानीयस्तरमा सहकारी संस्थाले पुर्याउँदै आएको आर्थिक योगदान, बचत गर्ने बानीको विकास तथा सदस्यलाई आवश्यक वित्तीय सेवा उपलब्ध गराउने भूमिकाबारे चर्चा गरेका थिए।
जीवन ज्योति बचत तथा ऋण सहकारी संस्थाले आगामी दिनमा संस्थाको सेवा विस्तार गर्दै सदस्यको आर्थिक हित, सुरक्षित बचत तथा उत्पादनमूलक क्षेत्रमा लगानीलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। स्वागत तथा सम्मान कार्यक्रमले सहकारी संस्था र प्रदेश सरकारबीचको सम्बन्ध तथा स्थानीय आर्थिक विकासका विषयमा समेत सकारात्मक संवादको वातावरण सिर्जना गरेको सहभागीहरूले बताएका छन्।




