
कलैया । जिल्ला प्रहरी कार्यालय बाराले अपराध नियन्त्रण, अनुसन्धान तथा सीमा क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रणमा सक्रियता बढाउँदै आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका १ हजार ३ सय ७४ मुद्दामध्ये ८ सय ५५ वटा फर्छ्यौट गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार कुल मुद्दामध्ये करिब ६२ प्रतिशत फर्छ्यौट भएको हो। बाँकी ५ सय १८ मुद्दा अर्थात् करिब ३८ प्रतिशत अनुसन्धान तथा प्रक्रियामा रहेका छन्।
एसपी कुँवरका अनुसार २०८२ मंसिर ७ गते जिल्ला प्रहरी कार्यालय बाराको नेतृत्व सम्हालेपछि अपराध नियन्त्रणसँगै खुला सीमाबाट हुने चोरी–तस्करी र भन्सार छली नियन्त्रणलाई विशेष प्राथमिकता दिइएको छ। त्यसक्रममा आर्थिक वर्ष २०८२/०८३ मा प्रहरीले १० करोड ३ लाख ६८ हजार ५ सय २५ रुपैयाँ बराबरका भन्सार छलीका अवैध सामान बरामद गरेको छ।
तस्करी तथा अवैध कारोबारमा संलग्न १२ जनालाई पक्राउ गरिएको र ३३ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा निगरानी, गस्ती र नियमित चेकजाँच बढाइएकाले अवैध गतिविधिमाथि नियन्त्रणको प्रयास प्रभावकारी बन्दै गएको प्रहरीको दाबी छ।
बैंकिङ कसुर र साइबर अपराध चुनौती
बारामा पछिल्लो समय बैंकिङ कसुर, साइबर अपराध तथा घरेलु विवाद प्रहरीका लागि प्रमुख चुनौतीका रूपमा देखिएका छन्। आर्थिक वर्ष २०८२/०८३ मा मात्रै बैंकिङ कसुरसम्बन्धी १९५ वटा मुद्दा दर्ता भएकामा १३१ वटा फर्छ्यौट भएका छन्। ६४ वटा मुद्दा प्रक्रियामै रहेका छन्।
अघिल्लो आर्थिक वर्षमा बैंकिङ कसुरका १४७ वटा मुद्दा दर्ता भएको तुलनामा पछिल्लो वर्ष यो संख्या बढेको प्रहरीले जनाएको छ। यसले डिजिटल कारोबार तथा आर्थिक गतिविधिसँग जोडिएका अपराध नियन्त्रणमा थप चुनौती देखिएको संकेत गरेको छ।
लागुऔषधदेखि ट्राफिक व्यवस्थापनसम्म प्राथमिकता
प्रहरीले लागुऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी–तस्करी नियन्त्रण, महिला तथा बालबालिकासम्बन्धी अपराध न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।
राजमार्ग, औद्योगिक क्षेत्र र संवेदनशील स्थानमा नियमित चेकजाँच तथा गस्ती बढाइएको एसपी कुँवरले बताए। सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै सवारी नियम उल्लंघनमाथि निगरानी र कारबाहीलाई समेत तीव्रता दिइएको उनले जानकारी दिए।
६१ प्रहरीको दरबन्दी रिक्त, स्रोतसाधनको अभाव
अपराध नियन्त्रण र अनुसन्धानको जिम्मेवारी बढ्दै गए पनि जिल्ला प्रहरी कार्यालय बारामा जनशक्ति तथा भौतिक स्रोतसाधनको अभाव देखिएको छ।
कार्यालयमा ९ सय ५३ जनाको दरबन्दी रहेकामा हाल ८ सय ९२ जना मात्रै कार्यरत छन्। दरबन्दीअनुसार ६१ जना प्रहरी कर्मचारी अपुग छन्। सीमित जनशक्तिबाटै शान्ति सुरक्षा, अपराध अनुसन्धान, गस्ती तथा अन्य प्रहरी सेवा सञ्चालन गर्नुपरेको एसपी कुँवरले बताए।
सवारीसाधनको पर्याप्त व्यवस्था नहुँदा कतिपय अवस्थामा प्रहरी कर्मचारीले आफ्नै सवारी साधन प्रयोग गरेर समेत ड्युटी गर्नुपर्ने अवस्था रहेको उनले बताए। केही अस्थायी प्रहरी पोस्ट तथा चौकीमा फ्यान, ओछ्यान लगायतका आधारभूत सुविधाको समेत अभाव रहेको प्रहरीले जनाएको छ।
नागरिकको सूचना प्रहरीका लागि महत्वपूर्ण
एसपी कुँवरले अपराध नियन्त्रण र अनुसन्धानलाई थप प्रभावकारी बनाउन नागरिकको सहयोग तथा सूचनालाई महत्वपूर्ण आधारका रूपमा लिइएको बताए। उनले शंकास्पद गतिविधि वा अपराधसम्बन्धी सूचना तत्काल प्रहरीलाई उपलब्ध गराउन नागरिकसँग आग्रह गरे।
उनले शान्ति सुरक्षा र अपराध नियन्त्रणसँग सम्बन्धित सही सूचना नागरिकसम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
प्रहरीका अनुसार ‘नेपाल पुलिस एप्स’ मार्फत प्राप्त हुने गुनासो तथा सूचनामाथि समेत जिल्ला प्रहरी कार्यालयले आवश्यक निगरानी र समन्वय गर्दै आएको छ। आगामी दिनमा अपराध नियन्त्रणलाई थप परिणाममुखी बनाउने, सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधिमाथि निगरानी कडा पार्ने तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने एसपी कुँवरले प्रतिबद्धता जनाएका छन्।



