
बारा — महागढीमाई नगरपालिकामा अवैध रूपमा सञ्चालन हुँदै आएका घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा प्रहरीले छापा मार्दै ठूलो परिमाणमा कच्चा पदार्थ नष्ट गरेको छ।
महागढीमाई नगरपालिका–३ ग्वास टोल र वडा नं. १० गञ्जभवानीपुर गाउँमा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको भन्ने सूचना पाएपछि प्रहरीले शुक्रबार अनुगमन तथा कारबाही गरेको हो।
मिति २०८३ साल साउन २९ गते बिहान करिब ११ः३० बजे प्राप्त सूचनाका आधारमा प्रहरी चौकी गञ्जभवानीपुरबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) बहादुर प्रसाद यादवको कमाण्डमा ३ जना तथा जिल्ला प्रहरी कार्यालय बाराबाट प्र.ना.नि. नवलकिशोर साहको कमाण्डमा १३ जना गरी १६ जनाको संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले महागढीमाई नगरपालिका–३ ग्वास टोल तथा वडा नं. १० गञ्जभवानीपुर गाउँमा पुगेर अवैध रूपमा घरेलु मदिरा उत्पादन गर्न प्रयोग भइरहेका भट्टीहरूमा छापा मारेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
कारबाहीका क्रममा प्रहरीले विभिन्न स्थानमा सञ्चालनमा रहेका घरेलु मदिरा उत्पादन गर्ने भट्टी तथा त्यसमा प्रयोग भइरहेको कच्चा पदार्थ गरी अन्दाजी १० हजार लिटर कच्चा पदार्थ घटनास्थलमै नष्ट गरेको छ। प्रहरीले घरेलु मदिरा उत्पादनमा प्रयोग हुने सानो प्लास्टिकका ११ थान ड्रम र १ थान टिनको ड्रम समेत बरामद गरेको जनाएको छ।
बरामद गरिएका ड्रमहरू आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा ल्याएर राखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अवैध घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरणका कारण समाजमा विभिन्न प्रकारका आपराधिक तथा सामाजिक समस्या बढ्न सक्ने भएकाले त्यस्ता गतिविधिमाथि निगरानी बढाइएको छ। स्थानीय क्षेत्रमा अवैध रूपमा मदिरा उत्पादन तथा बिक्रीवितरण भइरहेको सूचना प्राप्त भएमा तत्काल प्रहरीलाई जानकारी गराउनसमेत प्रहरीले आग्रह गरेको छ।
कारबाहीमा परेका व्यक्तिहरू
प्रहरीले अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी सञ्चालनमा संलग्न रहेको भन्दै महागढीमाई नगरपालिका–३ र वडा नं. १० का निम्न व्यक्तिहरूको नाम उल्लेख गरेको छः
१. सोभिलाल राम — महागढीमाई–३
२. खुबलाल राम — महागढीमाई–३
३. सावित्री पासवान — महागढीमाई–३
४. राजकुमार राम — महागढीमाई–३
५. अस्पताली राम — महागढीमाई–३
६. भोला राम — महागढीमाई–१०
७. प्रभु राम — महागढीमाई–१०
८. रामानन्द जैसवाल — महागढीमाई–१०
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ। स्थानीय तहमा लामो समयदेखि लुकिछिपी सञ्चालन हुँदै आएका अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीमाथि प्रहरीले कारबाही तीव्र बनाएसँगै ठूलो परिमाणमा कच्चा पदार्थ नष्ट गरिएको हो। प्रहरीले आगामी दिनमा समेत अवैध मदिरा उत्पादन तथा बिक्रीवितरणविरुद्धको अभियानलाई निरन्तरता दिने जनाएको छ।



