दरबन्दीभन्दा ६१ प्रहरी कम, स्रोत–साधनको अभावबीच बाराको सुरक्षा सम्हाल्दै प्रहरी

बारा – जिल्ला प्रहरी कार्यालय बारासहित जिल्लाभर नेपाल प्रहरीको कुल ९५३ दरबन्दी रहे पनि हाल ८९२ जना प्रहरी मात्रै कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। दरबन्दीअनुसार आवश्यक जनशक्ति नहुँदा सीमित स्रोत–साधन र जनशक्तिबाट शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको जिम्मेवारी निर्वाह गर्नुपरेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार जिल्लामा प्रहरीको जनशक्ति र स्रोत–साधनको अभावका बाबजुद शान्ति सुरक्षा कायम गर्ने तथा अपराध रोकथाम र नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा परिचालित हुँदै आएको छ।
एसपी कुँवरले सर्वसाधारण प्रहरी सम्बन्धी आफ्ना गुनासा, उजुरी तथा सूचना नेपाल प्रहरीको एपमार्फत समेत पठाउन सक्ने जानकारी दिए। प्रहरी र नागरिकबीचको समन्वयलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको उनको भनाइ छ।
उनका अनुसार जिल्लाका विभिन्न प्रहरी युनिटमा आवश्यक भौतिक पूर्वाधार र स्रोत–साधनको समेत कमी रहेको छ। प्रहरीलाई ड्युटीमा प्रयोग गर्ने मोटरसाइकल, फ्यान, सुत्ने ओछ्यान तथा आवश्यक भवनको अभाव रहेको उनले बताए। सीमित स्रोत–साधनका बीच पनि उपलब्ध साधनको अधिकतम प्रयोग गर्दै सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रयास भइरहेको उनले स्पष्ट पारे।
एसपी कुँवरका अनुसार बारामा सुरक्षा व्यवस्थापनका लागि राजमार्ग औद्योगिक क्षेत्र लगायत जिल्लाका भित्री रहेको समुदायलाई विशेष प्राथमिकतामा राखिएको छ। ती क्षेत्रमा नियमित चेकजाँच, गस्ती तथा निगरानी बढाउनुका साथै नागरिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ। सडक दुर्घटना न्यूनीकरणका लागि समेत विभिन्न अभियान र सचेतनामूलक गतिविधि सञ्चालन भइरहेको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक मीनबहादुर घलेका अनुसार जिल्लामा ५२ वटा प्रहरी युनिट रहेका छन्। तीमध्ये १५ वटा युनिट अस्थायी प्रकृतिका रहेको उनले जानकारी दिए। प्रवक्ता घलेका अनुसार जिल्लामा स्वीकृत दरबन्दी ९५३ रहेकोमा हाल ८९२ जना जनशक्ति मात्रै कार्यरत छन्। यसले स्वीकृत दरबन्दीको तुलनामा ६१ जना प्रहरीको कमी देखिन्छ।
प्रहरीका अनुसार जिल्लाको भौगोलिक अवस्था, राजमार्ग, औद्योगिक क्षेत्र, सीमा क्षेत्र तथा बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै उपलब्ध जनशक्तिलाई आवश्यकताअनुसार परिचालन गरिएको छ। अपराध नियन्त्रण, शान्ति सुरक्षा, सीमा निगरानी, दुर्घटना न्यूनीकरण तथा नागरिकसँगको समन्वयलाई प्राथमिकतामा राखेर प्रहरी परिचालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।



