राष्ट्रियसमाचारस्थानीय

फेटामा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा –  बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा फेटा गाउँपालिका–७ कुकुरभुक्का निवासी लक्ष्मी साह तेलीका १८ वर्षीय छोरा गणेश साह तेली रहेका छन्।

प्रहरीका अनुसार सोमबार दिउँसो करिब १२ बजेको समयमा स्थानीय रुप नारायण साह कानुको घरमा शिवगुरुको पूजा आयोजना गरिएको थियो। उक्त पूजामा भजन बजाउनका लागि स्थानीय महिलाहरूले सामूहिक रूपमा रकम संकलन गरी खरिद गरेको स्पिकरको एम्प्लिफायरको तार बोर्डमा जोड्ने क्रममा गणेशलाई अचानक करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका गणेशलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया, बारा लगिएको थियो। अस्पतालमा दिउँसो १२ः३८ बजे चिकित्सकले ECG परीक्षण गरेपछि उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाबारे अस्पतालमा खटिएको प्रहरी कर्मचारीले दिउँसो १ः०१ बजे इलाका प्रहरी कार्यालय छतवालाई जानकारी गराएको थियो। जानकारी प्राप्त भएलगत्तै प्रहरी नायब निरीक्षक कृष्णनन्दन ठाकुरको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button