
दिपेश कुशवाहा
कलैया – कलैया उपमहानगरपालिका–२७, बिजुलपुरमा भौतिक पूर्वाधार तथा स्थानीय समस्याका विषयमा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ। कलैयाकी छोरी तथा महिला नेतृ हिरामती कुशवाहाको नेतृत्वमा आयोजित उक्त संवाद कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘रायट समूहका’ जिल्ला अध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा महिला नेतृ हिरामती कुशवाहा, अतिथिका रूपमा वडा सदस्य आलम अहमद तथा रास्वपा वडा सभापति सन्तोष गिरीको उपस्थिति रहेको थियो। कार्यक्रममा गाउँका भद्रभलाद्मी, समाजसेवी, युवा तथा सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधिसहित ४९ जनाको सहभागिता रहेको सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिक्की कुशवाहाले जानकारी दिए। संवादका क्रममा स्थानीयवासीले खानेपानी, सडक, नाला तथा सरसफाइ, विद्युत्, सिँचाइ, शौचालय, खेलमैदान, गरिबी र लागुऔषधलगायतका समस्याबारे आफ्ना गुनासा तथा सुझाव राखेका थिए।
स्थानीय मुनिलाल साहले कलैया उपमहानगरपालिकाको नजिकै भए पनि बिजुलपुरका बासिन्दाले आधारभूत सुविधाको अभावमा कठिन जीवन बिताउनुपरेको बताए। खानेपानीको समस्या, अव्यवस्थित सडक तथा गरिबीका कारण गाउँवासीले समस्या भोगिरहेको उनको भनाइ थियो।
त्यस्तै, रिना देवीले चुनावका समयमा जनप्रतिनिधिहरूले विभिन्न वाचा गरे पनि गाउँका नाला भरिएर समस्या हुने गरेको भन्दै नियमित सरसफाइको व्यवस्था गर्नुपर्ने माग राखिन्। उनले छोरीहरूको अधिकार र स्वतन्त्रतासम्बन्धी समस्यालाई पनि प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताइन्। बिगनी देवीले विद्युत्, सिँचाइ र शौचालयको समस्या राख्दै सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने बताइन्। सैयदा खातुनले लागुऔषधको प्रभावमा परेका युवालाई कसरी पुनः सामान्य जीवनमा फर्काउन सकिन्छ भन्ने विषयमा जिज्ञासा राखिन्।
युवा जेन जि किसान साहले गाउँस्तरका खेलाडीका लागि खेलमैदानको अभाव रहेको तथा खेलाडीको सुरक्षासमेत सुनिश्चित हुन नसकेको समस्या उठाए। ललिता देवी रामले आफूले जीवनमा भोगेका विभिन्न सामाजिक तथा आर्थिक समस्याबारे कार्यक्रममा आफ्ना अनुभव सुनाइन्। कार्यक्रममा उठेका समस्यालाई समाधान गर्न तीनै तहका सरकारसँग सहकार्य गर्दै गाउँमा टोल सुधार समिति गठन गरी स्थानीयवासीसँग काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिबद्धता महिला नेतृ हिरामती कुशवाहाले व्यक्त गरिन्। उनले कानून र प्रक्रियाअनुसार वडा, नगरपालिका, प्रदेश तथा संघीय कार्यालयसँग आवश्यक समन्वय गरी स्थानीय समस्याको समाधानका लागि पहल गर्ने बताइन्। रास्वपा वडा सभापति सन्तोष गिरीले गाउँ–टोलका समस्यालाई सामूहिक रूपमा उठाएर वडा कार्यालयमार्फत पहल गरे समाधान गर्न सकिने बताए। वडा सदस्य आलम अहमदले संवाद कार्यक्रममा उठेका स्थानीय समस्याको समाधानका लागि वडा कार्यालयदेखि नगरपालिका तहसम्म आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको समापन गर्दै रास्वपा ‘राइट समूह’ जिल्ला अध्यक्ष मनोज साहले स्थानीय समस्याको पहिचानसँगै सम्बन्धित निकायसँग समन्वय गरी समाधानको बाटो खोज्न आफूहरू तयार रहेको बताए।



