
बारा – मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री महमम्द समीरले कलैया उपमहानगरपालिका–१४, भौरा टोलस्थित विद्यालयको भौतिक संरचना तथा शैक्षिक गुणस्तरको अवस्थाबारे स्थानीय बासि, बुद्धिजीवी तथा युवाहरूसँग प्रत्यक्ष रूपमा छलफल गर्नु भएको छ।
मन्त्री समीर आफ्नो क्षेत्रका स्थानीयको समस्या, आवश्यकता र सुझाव बुझ्ने अभियानको क्रममा भौरा टोल पुगेका थिए। सो क्रममा उनले विद्यालयको भवन, कक्षाकोठा, विद्यालय परिसर तथा विद्यार्थीलाई उपलब्ध गराउदै आएको शैक्षिक वातावरणबारे स्थानीयसँग जानकारी लिएका थिए।
छलफलमा सहभागी स्थानीय बासि , बुद्धिजीवी तथा युवाहरूले विद्यालयको भौतिक संरचना थप व्यवस्थित र सुविधासम्पन्न बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए। विद्यालयमा विद्यार्थीको संख्या, कक्षाकोठाको अवस्था, खानेपानी, शौचालय, खेलमैदानलगायतका आधारभूत सुविधालाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा समेत स्थानीयले मन्त्री समीरलाई सुझाव दिनु भएको थियो । त्यस्तै, विद्यालयको भौतिक पूर्वाधार निर्माणसँगै शिक्षाको गुणस्तर सुधारलाई पनि प्राथमिकतामा राख्नुपर्ने स्थानीयको सुझाव थियो। विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न पर्याप्त शिक्षक, शैक्षिक सामग्री, प्रविधिको प्रयोग तथा अध्ययनका लागि अनुकूल वातावरण आवश्यक रहेको सहभागीहरूले बताएका थिए।
स्थानीयले विद्यालय तथा समुदायसँग प्रत्यक्ष रूपमा सम्बन्ध राख्ने जनप्रतिनिधि र प्रदेश सरकारका मन्त्रीले स्थलगत रूपमा समस्या बुझ्ने कार्यालाई प्रशन्सा व्यक्त गर्नु भएकोछ। मन्त्री समीरले स्थानीयबाट प्राप्त सुझाव र समस्यालाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्ने बताए। उनले विकास निर्माणका काममा जनताको आवश्यकता र मागअनुसार अघि बढन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय तह, प्रदेश सरकार, विद्यालय व्यवस्थापन पक्ष तथा समुदायबीच समन्वय आवश्यक रहेको बताए।
विद्यालयको भौतिक पूर्वाधार विकास मात्र नभई शैक्षिक गुणस्तर अभिवृद्धि पनि उत्तिकै महत्वपूर्ण रहेको धारणा राखेका थिए। विद्यालय राम्रो भवनले मात्र नभई गुणस्तरीय शिक्षा, सक्षम जनशक्ति र प्रभावकारी शैक्षिक वातावरणले उत्कृष्ट बन्ने भएकाले त्यसतर्फ समेत ध्यान दिनुपर्ने मन्त्री समीरको भनाइ थियो। मन्त्री समीरले स्थानीयसँगको छलफलबाट आएका सुझावलाई सम्बन्धित निकायसँग समन्वय गरी आवश्यकता अनुसार अघि बढाउने प्रतिबद्धता जनाउनु भयो।
स्थानीयस्तरमा पुगेर जनताको समस्या र सुझावलाई प्रत्यक्ष रूपमा सुन्ने मन्त्री समीरको पहललाई स्थानीयहरूले सकारात्मक रूपमा लिएका छन्।




