राष्ट्रियसमाचारस्थानीय

छड्के अनुगमनमा देखिएन ग्यासको अभाव बजारको अवस्था सामान्य रहेको प्रशासन को निष्कर्ष

बारा –  बारामा सञ्चालनमा रहेका ग्यास उद्योग तथा डिलरहरूको छड्के अनुगमनपछि जिल्ला प्रशासन कार्यालयले जिल्लामा खाना पकाउने ग्यासको कालोबजारी, बढी नाफा तथा कृत्रिम अभाव सिर्जना गरिएको अवस्था नरहेको  जिल्ला प्रशासन कार्यालय बाराले निष्कर्ष निकालेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २०८३ साल साउन २४ गते बाराका विभिन्न ग्यास उद्योग तथा डिलरहरूमा गरिएको छड्के अनुगमन पछि जिल्ला प्रशासन कार्यालय, बाराको (मुद्दा शाखा) ले गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई प्रतिवेदन पठाउँदै यस्तो जानकारी गराएको हो। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको हस्ताक्षर रहेको प्रतिवेदनमा जिल्लामा रहेका ग्यास डिलरहरूको निरीक्षणका क्रममा बजारको वर्तमान अवस्था र उपभोक्ताले भोग्नुपरेका समस्याबारे स्थलगत रूपमा जानकारी लिइएको उल्लेख रहेकोे छ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख मिनबहादु घले शस्त्र प्रहरी उपरीक्षक बिशाल सिलवाल रास्ट्रिि अनुसन्धान बाराका प्रमुख सरोज निरौला स्थानीय सञ्चार कार्मी  तथा सुरक्षा निकायका अधिकारीहरूको प्रत्यक्ष सहभागिता रहेको थियो। टोलीले जिल्लाका विभिन्न ग्यास डिलर तथा बिक्री केन्द्रमा पुगेर ग्यासको उपलब्धता, वितरण प्रणाली र उपभोक्ताको अवस्थाबारे अनुगमन गरेको थियो।

प्रशासनको प्रतिवेदनअनुसार अनुगमन गरिएका कुनै पनि ग्यास डिलरमा कालोबजारी, नाफाखोरी वा कृत्रिम अभाव सिर्जना गरिएको प्रमाण फेला परेन। जिल्लामा उपभोक्ताहरूले सहज रूपमा ग्यास प्राप्त गरिरहेको अवस्था रहेको प्रशासनको निष्कर्ष छ। प्रतिवेदनमा उद्योगी, वितरक तथा उपभोक्ताको  मागलाई आधार मानेर ग्यास आपूर्ति र वितरण गरिरहेको उल्लेख छ। यद्यपि ग्यास नपाइने हो कि भन्ने आशंकाका कारण कतिपय उपभोक्ताले घरमा आवश्यकताभन्दा बढी सिलिन्डर मौज्दात राख्ने गरेको पाइएको जनाइएको छ। त्यसबाट केही स्थानमा कृत्रिम दबाब सिर्जना भएको देखिए पनि जिल्लाभरि ग्यास अभावको अवस्था नरहेको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको अभिलेख राखी प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ। बजारमा कुनै पनि किसिमको अस्वस्थ प्रतिस्पर्धा वा कृत्रिम अभाव हुन नदिन अनुगमनलाई निरन्तरता दिने प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी, बजारमा ग्यास नपाइएको भन्दै ६२ घण्टादेखि ग्यास नपाएको कुनै पनि गुनासो प्राप्त नभएको प्रशासनले जनाएको छ।

प्रशासनले हाल बाराको समग्र बजार अवस्था सामान्य रहेको जनाउँदै उपभोक्ताहरू त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ। ग्यासको अनावश्यक सञ्चिति नगर्न तथा बजारमा कृत्रिम अभाव सिर्जना हुने गतिविधि नगर्न सम्बन्धित पक्षलाई प्रशासनले आग्रह गरेको छ। साथै, ग्यासको आपूर्ति तथा वितरण व्यवस्थालाई व्यवस्थित बनाउन अनुगमनलाई निरन्तरता दिने जनाएको छ। जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई पठाएको दुई पृष्ठको प्रतिवेदनमा हाल बारामा ग्यासको बजार अवस्था सामान्य रहेको र उपभोक्ताहरू त्रसित हुनुपर्ने कुनै परिस्थिति नदेखिएको स्पष्ट उल्लेख गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button