इनर्वा गाउमा खानेपानी र सडकमा जम्ने पानीको समस्या समाधानका लागि संवाद सम्पन्न

दिपेश कुशवाहा
कलैया । कलैया उपमहानगरपालिका–१९ स्थित रघुनाथपुर इनर्वा टोलमा सडकमा पानी जम्ने तथा खानेपानीको अभावलगायत स्थानीय समस्याबारे सरोकारवालासँग संवाद कार्यक्रम सम्पन्न भएको छ।
कलैयाकी छोरी तथा महिला नेतृ हिरामती कुशवाहाको नेतृत्वमा सामाजिक परिवर्तन केन्द्रको सहयोगमा आयोजित संवाद कार्यक्रम वडा सदस्य बलिस्टर पटेलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय समाजसेवी, युवा नेता, टोलका अगुवा तथा सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधिसहित ५१ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा समाजसेवी श्रीराम पाण्डेले नेपाल कृषि प्रधान देश भए पनि किसानले रासायनिक मलको अभाव र महँगो मूल्यको समस्या भोग्नुपरेको बताए। उनले मल वितरण प्रणालीलाई व्यवस्थित, पारदर्शी र किसानमैत्री बनाउनुपर्नेमा जोड दिए।
त्यस्तै, समाजसेवी महिला ललित देवी पासवानले इनर्वा टोलमा खानेपानीको समस्या हुनुको मुख्य कारण खानेपानीका लागि जडान गरिएको डिप बोरिङको मोटर बिग्रनु रहेको बताइन्। उनले मोटर मर्मत तथा उचित व्यवस्थापन गर्न सके तत्काल खानेपानीको समस्या समाधान गर्न सकिने धारणा राखिन्। युवा नेता जयराम पण्डितले सडकमा पानी जम्ने समस्या पटक–पटक वडा कार्यालयलाई जानकारी गराउँदा पनि अपेक्षित चासो नदेखिएको गुनासो गरे। सडकमा पानी जम्दा स्थानीयवासीलाई आवतजावतमा समस्या हुनुका साथै दैनिक जीवनमा समेत असर परेको उनले बताए।
संवादका क्रममा उठेका समस्याको दीर्घकालीन समाधानका लागि टोल सुधार समिति वा खानेपानी उपभोक्ता समिति गठन गरी वडा कार्यालय तथा कलैयाउपमहानगरपालिकासँग समन्वय गर्नुपर्ने धारणा महिला नेतृ हिरामती कुशवाहाले राखिन्। उनका अनुसार स्थानीयस्तरमा समिति गठन गरेर जिम्मेवारी र समन्वयलाई व्यवस्थित गर्न सके खानेपानी तथा सडकमा पानी जम्ने समस्याको समाधानतर्फ प्रभावकारी पहल गर्न सकिन्छ।
त्यस्तै, रासायनिक मल वितरणमा समेत पारदर्शिता आवश्यक रहेको कुशवाहाले बताइन्। वडा क्षेत्रमा आवश्यकताअनुसार मल डिलरलाई वितरण गरिएको छ कि छैन, तोकिएको बिक्री मूल्यमा मल बिक्री भएको छ कि छैन भन्ने विषयमा अनुगमन गर्न रासायनिक मल वितरण व्यवस्थापन समितिलाई अनुरोध गर्ने उनले बताइन्। आगामी दिनमा किसानको क्षेत्रफल तथा वास्तविक खेतीयोग्य जमिनका आधारमा, भाडामा जग्गा लिएर खेती गर्ने किसानले समेत सहज रूपमा मल पाउने वातावरण निर्माण गर्न पहल गरिने उनको भनाइ थियो।
कार्यक्रममा वडा सदस्य बलिस्टर पटेलले संवादमा उठेका स्थानीय समस्याको समाधानका लागि वडा कार्यालयदेखि नगरपालिका तहसम्म आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीय समस्यालाई समुदायमै छलफल गरी सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिक्की कुशवाहाले जानकारी दिए।



