
बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक भारतीय नम्बरको ट्रेलर ट्रकले पाँचवटा सवारीसाधनलाई ठक्कर दिँदा उक्त सवारीसाधनमा क्षति पुगेको छ। दुर्घटनामा मानवीय क्षति भने भएको छैन।
शुक्रबार राति करिब १० बजे हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको भारतीय नम्बर HR 69 D 7969 को ट्रेलर ट्रकले ओभरटेक गर्ने क्रममा विपरीत लेनमा प्रवेश गरी अनियन्त्रित भएर पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका पाँचवटा सवारीसाधनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। दुर्घटनापछि भारतीय ट्रेलरका चालक फरार भएका छन्। प्रहरीले चालकको खोजी तथा दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। दुर्घटनामा ना.१ ज ६८८१ नम्बरको कार (ट्याक्सी) को अगाडिको भागमा क्षति पुगेको छ। उक्त ट्याक्सी चितवन भरतपुर महानगरपालिका–१० का मनोज गुरुङले चलाइरहेका थिए।
त्यस्तै, लु.प्र.०१–००१ च ०१२४ नम्बरको भ्यानको अगाडि र पछाडिको भागमा क्षति पुगेको छ। भ्यानका चालक नवलपुर नवलपुर नगरपालिका–८ का दुर्गाबहादुर पौडेल रहेका छन्।
बा.१७ च ७७८३ नम्बरको ओम्नी भ्यानको अगाडिको भाग कुच्चिएको छ। उक्त भ्यान भरतपुर महानगरपालिका–११ का आशिष श्रेष्ठले चलाइरहेका थिए। त्यसैगरी, ना.४ च ५३३४ नम्बरको योद्धा पिकअपको बायाँ भागमा क्षति हुनुका साथै अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ। पिकअपका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ कमानेका राजुकुमार भेटवाल रहेका छन्।
बा.प्र.०३–००१ ज ३६२ नम्बरको ईभी गाडीको अगाडिको भागमा समेत क्षति पुगेको छ। उक्त गाडीका चालक हेटौंडा उपमहानगरपालिका–९ का नितेश पौडेल रहेका छन्।
दुर्घटनापछि केही समय सडक एकतर्फी सञ्चालनमा आएको थियो। प्रहरीले क्रेनको सहयोगमा दुर्घटनामा परेको भारतीय ट्रेलर हटाउनुका साथै अन्य साना सवारीसाधनलाई समेत घटनास्थलबाट प्रहरी कार्यालयतर्फ ल्याएको जनाएको छ।
शनिबार बिहान करिब २ बजेदेखि हेटौंडा–पथलैया सडकखण्डमा दुवैतर्फी यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ।
दुर्घटनामा संलग्न भारतीय ट्रेलर घटनास्थलबाट नियन्त्रणमा लिने तथा फरार चालकको खोजी गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।



