राष्ट्रियसमाचार

राष्ट्रसेवक कर्मचारीलाई १० प्रतिशत प्रोत्साहन भत्ता, भुक्तानीका लागि खर्च शीर्षक मिलाउन महालेखा नियन्त्रकको निर्देशन

राषकाठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रसेवक कर्मचारीलाई उपलब्ध गराउने १० प्रतिशत मासिक प्रोत्साहन भत्ता भुक्तानीका लागि आवश्यक बजेट तथा खर्च शीर्षक मिलाउन निर्देशन दिएको छ। महालेखा नियन्त्रक कार्यालय, बजेट तथा शोधभर्ना शाखाले कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई पत्राचार गर्दै प्रोत्साहन भत्ता भुक्तानी गर्दा बजेट खर्च शीर्षक मिलाएर मात्र भुक्तानी गर्न निर्देशन दिएको हो।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यको बुँदा नं. ६१ को खण्ड (ज) बमोजिम राष्ट्रसेवक कर्मचारीका लागि कायम भएको सुरु तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ।

उक्त प्रोत्साहन भत्ता भुक्तानी निकासा गर्दा बजेट उपशीर्षक नं. ६०१०००१५ (कर्मचारी सुविधा) बाट रकम खर्च गर्ने तथा खर्च शीर्षक नं. २११३५, कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षकमा रकम रकमान्तर गरी भुक्तानी गर्ने व्यवस्था मिलाउन महालेखा नियन्त्रक कार्यालयले आग्रह गरेको छ।
महालेखा नियन्त्रक कार्यालय, बजेट तथा शोधभर्ना शाखाका लेखा अधिकृत शुभाष चन्द्र अर्यालले हस्ताक्षर गरेको पत्रमा सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई सोहीअनुसार आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत राष्ट्रसेवक कर्मचारीको सुरु तलबमानको १० प्रतिशत बराबर मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेपछि त्यसको कार्यान्वयनका लागि खर्च व्यवस्थापनसम्बन्धी प्रक्रिया अघि बढाइएको हो। महालेखा नियन्त्रक कार्यालयको पछिल्लो पत्रसँगै सम्बन्धित सरकारी कार्यालयहरूले कर्मचारीको प्रोत्साहन भत्ता भुक्तानी गर्दा तोकिएको बजेट उपशीर्षक तथा खर्च शीर्षकअनुसार रकम व्यवस्थापन गर्नुपर्ने भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button