
मकवानपुर, २२ साउन । मकवानपुर जिल्लाभित्र निर्माण सामग्रीसम्बन्धी कारोबार गर्दै आएका करदाताहरूसँग करदाता प्रोत्साहन कार्यक्रम, करदाता शिक्षा तथा आर्थिक विधेयक, २०८३ ले प्रदान गरेका कर छुट तथा सहुलियतका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
आन्तरिक राजस्व कार्यालयको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा निर्माण सामग्री व्यवसायमा संलग्न करदाताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा करदातालाई करसम्बन्धी विद्यमान व्यवस्था, व्यवसाय सञ्चालनका क्रममा पूरा गर्नुपर्ने कर दायित्व, कर प्रणालीमा देखिएका समस्या तथा आर्थिक विधेयक, २०८३ मा व्यवस्था गरिएका विभिन्न छुट तथा सहुलियतबारे जानकारी गराइएको थियो।
कार्यक्रममा करदाताहरूले निर्माण सामग्रीको कारोबारका क्रममा करसम्बन्धी देखिएका व्यावहारिक समस्या, अभिलेख व्यवस्थापन, कर विवरण पेस गर्ने प्रक्रिया तथा कर प्रशासनसँग सम्बन्धित विषयमा जिज्ञासा राखेका थिए। सहभागी करदाताहरूले कर प्रणालीलाई थप सरल, पारदर्शी र व्यवसायमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए। आन्तरिक राजस्व कार्यालयले करदातालाई आफ्नो कर दायित्वप्रति सचेत बनाउँदै स्वेच्छिक रूपमा कर सहभागिता बढाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाएको छ।
कार्यक्रममार्फत आर्थिक विधेयक, २०८३ ले उपलब्ध गराएका कर छुट तथा सहुलियतको प्रभावकारी उपयोग गर्न तथा कानुनबमोजिम नियमित रूपमा कर विवरण पेस गरी कर दायित्व पूरा गर्न व्यवसायीहरूलाई आग्रह गरिएको थियो। करदाता र कर प्रशासनबीच प्रत्यक्ष संवादमार्फत समस्या पहिचान तथा समाधान गर्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रियाले निर्माण सामग्री व्यवसायीहरूलाई करसम्बन्धी व्यवस्थाबारे थप स्पष्टता प्रदान गरेको आयोजकले जनाएको छ।



