
दिपेश कुशवाहा / बारा – कलैया उपमहानगरपालिका–२३, भतौडा निवासी जटाशंकर साह कानुका दुवै मृगौला फेल भई लामो समयदेखि उपचाररत रहेपछि आर्थिक संकटमा परेको उनको परिवारलाई खाद्यान्न तथा नगद सहयोग प्रदान गरिएको छ। सामाजिक सेवाको अभियानलाई निरन्तरता दिँदै कलैयाको छोरी हिरामती कुशवाहाको विशेष पहल र नेतृत्वमा पीडित परिवारलाई राहत उपलब्ध गराइएको हो। सहयोग अन्तर्गत जीवन बिकास लघुवित्त संस्थाले चामल, दाल, खाने तेल, सोयाबिन, भुजा लगायतका अत्यावश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरेको जनाएको छ।
त्यसैगरी, सामाजिक अभियन्ताहरूको सक्रियतामा संकलन गरिएको रु. ११ हजार ८ सय हिरामती कुशवाहाले QR माध्यमबाट पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको जानकारी दिइएको छ।यस अवसरमा हिरामती कुशवाहाले गम्भीर रोगसँग संघर्ष गरिरहेका विपन्न तथा असहाय परिवारहरूको साथमा समाजका सबै व्यक्ति, संघसंस्था र सहयोगी हातहरू जोडिनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले यस्ता मानवीय अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहयोग प्राप्त गरेपछि पीडित परिवारले उपचारका साथै दैनिक जीवनयापनमा ठूलो राहत पुगेको बताउँदै सहयोग गर्ने विजय लघुवित्त संस्था, हिरामती कुशवाहा तथा सहयोग अभियानमा संलग्न सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। स्थानीयवासीले पनि सामाजिक उत्तरदायित्वको उदाहरण बनेको यस अभियानले संकटमा परेका परिवारलाई आशा र भरोसा दिलाएको प्रतिक्रिया दिएका छन्।



