
बारा, साउन २१ — बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–१ पथलैयास्थित धर्मेश्वर मन्दिर अगाडि दुई दिनदेखि बेवारिसे अवस्थामा रहेको बोलेरो गाडी प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि धनी पक्षलाई जिम्मा लगाएको छ।
प्रहरीका अनुसार साउन १९ गते साँझदेखि बा १४ च ८९२५ नम्बरको खाली बोलेरो गाडी धर्मेश्वर मन्दिर अगाडि लामो समयसम्म पार्किङ गरी छाडिएको अवस्थामा रहेको थियो। गाडी लामो समयसम्म कसैले नलगेपछि स्थानीयवासीमा विभिन्न आशंका उत्पन्न भएको थियो। यसैबीच, स्थानीय वडा सदस्य राकेश सुब्बाले साउन २० गते बिहान करिब ११ बजे प्रहरी चौकी पथलैयामा टेलिफोनमार्फत गाडी दुई दिनदेखि बेवारिसे अवस्थामा रहेको जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पथलैयाबाट प्रहरी सहायक निरीक्षक धर्मबहादुर शाहीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले घटनास्थलको निरीक्षण गरी गाडीलाई नियन्त्रणमा लिई प्रहरी चौकीमा ल्याएर दर्ता विवरण तथा स्वामित्व सम्बन्धी आवश्यक अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा उक्त बोलेरो गाडी जितपुर–सिमरा उपमहानगरपालिका–७ निवासी मिन्टु श्रीवास्तवको नाममा दर्ता रहेको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि गाडीधनीसँग सम्पर्क गरी आवश्यक कागजात र स्वामित्व पुष्टि गर्ने प्रक्रिया पूरा गरिएको थियो। प्रहरीले साउन २१ गते कानुनी प्रक्रिया पूरा गरी उक्त बोलेरो गाडी मिन्टु श्रीवास्तवका ६२ वर्षीय ससुरा सुरेश प्रसाद श्रीवास्तवलाई जिम्मा लगाएको जनाएको छ।
प्रहरीका अनुसार बेवारिसे अवस्थामा फेला पर्ने सवारीसाधनको स्वामित्व पुष्टि गरी सुरक्षित रूपमा सम्बन्धित धनी वा प्रतिनिधिलाई बुझाउने कार्य नियमित प्रक्रिया अन्तर्गत हुने गरेको छ। यस घटनामा पनि आवश्यक अनुसन्धान र कागजी प्रक्रिया पूरा भएपछि गाडी सुरक्षित रूपमा धनी पक्षलाई बुझाइएको प्रहरीको भनाइ छ।



