राष्ट्रियसमाचार

रौतहटमा पेट्रोल बोकेको ट्याङ्करमा आगलागी

प्रेमचन्द्र झा

चन्द्रनिगाहपुर – रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना भई आगलागी भएको छ। दुर्घटनापछि ट्याङ्कर पूर्ण रूपमा जलेर क्षतिग्रस्त भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ

प्रहरीका अनुसार शुक्रबार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेतर्फ पल्टिएको थियो। ट्याङ्कर पल्टिएलगत्तै अचानक आगलागी भएको बताइएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट प्रहरी निरीक्षक राजेन्द्र थापा मगरको नेतृत्वमा पाँच जनाको टोली परिचालन गरिएको थियो।

चन्द्रपुर नगरपालिका र बाराको निजगढबाट पुगेका दमकलको सहयोगमा आगो बिहान करिब ६ः५० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट पेट्रोल बोकेको ट्याङ्कर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभएको तथा महेन्द्र राजमार्गमा यातायात सञ्चालनसमेत सुचारु रहेको प्रहरीले जनाएको छ।

ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका–११ निवासी अन्दाजी २५ वर्षीय समिर गुरुङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट करिब १३ किलोमिटर पश्चिममा पर्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button