राष्ट्रियसमाचारस्थानीय

एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न बाराको ग्यास डिलरहरुलाई  प्रशासनको निर्देशन

कलैया, साउन ५ — जिल्ला प्रशासन कार्यालय बाराले बजारमा एलपी (L.P.) ग्यासको सहज आपूर्ति तथा वितरण सुनिश्चित गर्न ग्यास उत्पादक, वितरक र डिलरलाई आवश्यक निर्देशन जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी सूचनामा बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा वितरणका विषयमा उपभोक्ताबाट गुनासो प्राप्त भएको र कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। कृत्रिम अभाव सिर्जना हुन नदिन तथा आपूर्ति प्रणालीलाई सहज, पारदर्शी र व्यवस्थित बनाउन सम्बन्धित सबै पक्षलाई तोकिएका मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिइएको हो।

प्रशासनले तोकिएको परिमाण, गुणस्तर र मापदण्डअनुसार मात्र उपभोक्तालाई ग्यास उपलब्ध गराउन, नेपाल सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्यमा ग्यास बिक्री–वितरण नगर्न तथा ग्यास सिलिन्डरको भण्डारण र बिक्री–वितरण गर्दा सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

यस्तै, सुरक्षित तथा मापदण्डअनुसारका ग्यास सिलिन्डर मात्रै बिक्री–वितरण गर्न, वितरण प्रणालीलाई पारदर्शी बनाउन, अनावश्यक मौज्दात नराखी खाली सिलिन्डर प्राप्त भएपछि मात्र नयाँ सिलिन्डर उपलब्ध गराउन तथा उत्पादकबाट खरिद, बिक्री–वितरण र मौज्दातको अभिलेख व्यवस्थित राखी त्यसको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउन निर्देशन दिइएको छ।

प्रशासनले एक सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास स्थानान्तरण गरी खुला रूपमा बिक्री गर्ने जस्ता जोखिमपूर्ण तथा गैरकानुनी कार्य नगर्न पनि चेतावनी दिएको छ। साथै, बजार अनुगमनका क्रममा अनुगमन टोलीले दिएका निर्देशनहरूको पूर्ण पालना गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरिएको छ।

सूचनामा उल्लेख भएअनुसार यी निर्देशनहरूको पालना नगरेको, ग्यासको कालोबजारी गरेको वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।

जिल्ला प्रशासन कार्यालय बाराले एलपी ग्यासको कालोबजारी वा कृत्रिम अभाव सम्बन्धी सूचना भएमा सम्बन्धित निकायमा सम्पर्क गर्न तथा उपलब्ध गराइएको व्हाट्सएप नम्बर ९८५५००७७८९ मा जानकारी उपलब्ध गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button