राष्ट्रियसमाचारस्थानीय

२०७ किलो गाँजासहित पिकअप र चालक पर्सामा पक्राउ

पर्सा – पर्सा प्रहरीले विशेष सूचनाका आधारमा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै एक पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार साँझ करिब ६:३० बजे बिन्दवासिनी गाउँपालिका–५ अन्तर्गतको सडकखण्डमा शंकास्पद रूपमा गुडिरहेको प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअपलाई रोकी खानतलासी गरिएको थियो !

भारततर्फ लैजाने उद्देश्यले औषधिजन्य पदार्थ लुकाइछिपाइ ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभड्डाबाट खटिएको संयुक्त टोलीले उक्त कारबाही गरेको प्रहरीले जनाएको छ। प्रहरीले पिकअपभित्र राखिएका सिमेन्टका बोराहरू जाँच गर्दा तिनैभित्र लुकाएर राखिएको २०७ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पारेको हो

बरामद पदार्थ लागूऔषध गाँजा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। घटनामा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्णा लामालाई प्रहरीले पक्राउ गरेको छ। बरामद गाँजा, पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएर लागूऔषध ओसारपसारको सञ्जालबारे थप अनुसन्धान अघि बढाइएको प्रवक्ता मल्लले बताए।

पर्सा प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै यस्ता अवैध गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button