राष्ट्रियसमाचार

कार्यालय समयमै सुनसान कृषि  कार्यालय : कृषकको सेवा दिने कृषि आधुनिकीकरण एकाईमा कर्मचारी बिहिन

कार्यालय समयमै सुनसान कृषि  कार्यालय : कृषकको सेवा कलैया, बारा – बालेन सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गरेपछि बाँकी दिन कार्यालय समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सरकारी कार्यालय सञ्चालन हुने स्पष्ट व्यवस्था गरेको छ। तर, बाराको कलैयास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई, बारा (कार्य क्षेत्र : बारा र पर्सा) को जिम्मेवारी बोकेका सरकारी कार्यालय समयमा कर्मचारीहरु बेपत्ता भएको पाइएको छ।

मंगलबार बेलुका करिब ४:१५ बजे गरिएको स्थलगत अवलोकनका क्रममा कार्यालय लगभग कर्मचारीविहीन अवस्थामा भेटिएको हो। कार्यालयमा एक जना नायब सुब्बा (नासु) बाहेक अन्य कर्मचारी उपस्थित थिएनन्। विभिन्न शाखाका कोठा खुला भए पनि कर्मचारीका कुर्सी खाली थिए भने कार्यालय प्रमुखदेखि सूचना अधिकारीसम्मका नेमप्लेट मात्रै देखिन्थे, कर्मचारी भने कार्यस्थलमा थिएनन्।
दुई जिल्लाका हजारौं कृषकलाई सेवा दिने जिम्मेवारी बोकेको सरकारी कार्यालय कार्यसमयमै सुनसान भेटिनुले सेवा प्रवाहमाथि गम्भीर प्रश्न उठाएको छ। टाढाबाट सेवा लिन आउने सेवाग्राही कार्यालय पुग्दा कर्मचारी नै नभेटिने अवस्था सरकारी संयन्त्रको गैरजिम्मेवारीको उदाहरण बनेको स्थानीयको भनाइ छ।

कार्यालय प्रमुख रामबलम प्रसाद साह सँग टेलिफोन सम्पर्क गर्दा उनले आफू काठमाडौंमा आयोजित गोष्ठीमा रहेको बताए। तर, आफ्नो अनुपस्थितिमा कार्यालयको जिम्मेवारी कसले सम्हालिरहेको थियो र अन्य कर्मचारी किन कार्यालयमा थिएनन् भन्ने विषयमा उनले स्पष्ट जवाफ दिएनन।

यता कार्यालय प्रमुखसँगको संवादपछि सूचना अधिकारी आरती चौधरी ले सम्पर्क गर्दै आफू कार्यालयबाट निस्किसकेको र जिल्ला प्रशासन कार्यालय अगाडि पुगेको जानकारी गराइन्। साथै उनले “भोलि कार्यालयमा आउनुस्, भेटेर कुरा गरौँ” भन्ने आग्रह गरिन्। तर, कार्यालय सञ्चालन समय सकिन अझै करिब ४५ मिनेट बाँकी रहँदा कर्मचारी कार्यालयबाहिर हुनुको कारणबारे भने उनले पनि स्पष्ट जवाफ दिन सकिनन।

सरकारले कार्यालय समयको पालना कडाइका साथ गराउने, सेवाप्रवाहलाई प्रभावकारी बनाउने र सुशासन कायम गर्ने प्रतिबद्धता जनाइरहे पनि सम्बन्धित कार्यालयमा देखिएको यो अवस्थाले सरकारी दाबीमाथि नै प्रश्न उठाएको छ। कार्यसमयमै कार्यालय खाली हुनु केवल अनुशासनहीनता मात्र होइन, कृषकको अधिकारमाथिको समेत बेवास्ता भएको सरोकारवालाको टिप्पणी छ ।

अब सम्बन्धित मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अख्तियार प्राप्त निकायले यस घटनाको छानबिन गरी जिम्मेवार कर्मचारीमाथि आवश्यक कारबाही गर्छन् कि गर्दैनन् भन्ने चासो बढेको छ। सरकारी कार्यालय सेवा दिनका लागि हो कि कार्यसमयमै कर्मचारी गायब हुने थलो हो भन्ने प्रश्न यस घटनाले फेरि एकपटक उठाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button