रौतहटको गरुडामा युवाले गरे आत्मदाहाको प्रयास

रौतहट ,असार ३१ – रौतहटमा एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। मंगलबार राति करिब १ बजे गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले शरीरमा पेट्रोल खन्याई आगो लगाएको प्रहरीले जनाएको छ।
गरुडा–९ का वडा अध्यक्ष राजेश सहनीका अनुसार गौतम केही समयदेखि मानसिक तनाव र डिप्रेसनको समस्याबाट गुज्रिरहेका थिए। उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएको बताइएको छ। गौतम गरुडा बजारको झाझ पुल नजिक एउटा छाप्रे होटल सञ्चालन गर्दै आएका थिए र सोही व्यवसायबाट परिवार तथा तीन छोराको पालनपोषण गरिरहेका थिए।
घटनापछि परिवारका सदस्यले उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याएका थिए। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार उनको शरीरको करिब ३५ प्रतिशत भाग जलेको छ।
यसअघि गत शुक्रबार सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित बर्न अस्पताल लगिएको थियो। उपचारकै क्रममा मंगलबार उनको निधन भएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सितारामा रिजालका अनुसार घाइतेको उपचारका लागि काठमाडौ पाठईएको छ। र घटनाको थप अनुसन्धान भैइरहेको बताए ।



