प्रदेश खबरसमाचार

आर्थिक वर्ष सकिनुअघि योजना भुक्तानीका लागि पूर्वाधार विकास कार्यालय गौरको अत्यावश्यक सूचना जारी ।

गौर, रौतहट – मधेश प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय, गौर, रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा सम्झौता भएका योजनाहरूको भुक्तानी प्रक्रियालाई समयमै सम्पन्न गर्न सरोकारवालाहरूलाई अत्यावश्यक सूचना जारी गरेको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (७) र (८) बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिनअघि मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था रहेकाले असार महिनामा भुक्तानीसम्बन्धी कार्यमा अत्यधिक चाप पर्ने जनाएको छ।

त्यसैगरी, IPFMS प्रणालीमा समेत सोही अवधिमा अत्यधिक चाप पर्ने सम्भावना रहेकाले भुक्तानीका लागि आवश्यक कागजात र प्रक्रिया समयमै पूरा गर्न सम्बन्धित सबै निर्माण व्यवसायी, उपभोक्ता समिति तथा अन्य सरोकारवालालाई कार्यालयले आग्रह गरेको छ।

भुक्तानी प्रक्रियालाई सहज र प्रभावकारी बनाउन कार्यालयले नियमित कार्यालय समयबाहेक पनि सेवा उपलब्ध गराउने जनाएको छ। आवश्यक परे कार्यालय समयपछि समेत कार्यालय खुला रहने व्यवस्था मिलाइएको सूचनामा उल्लेख गरिएको छ।

पूर्वाधार विकास कार्यालय गौरले सबै सरोकारवालालाई समयमै आवश्यक प्रक्रिया पूरा गरी भुक्तानीसम्बन्धी कार्य सम्पन्न गर्न अनुरोध गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button