राष्ट्रियशिक्षासमाचार

कुन कानुनले दियो निजी संस्थालाई विद्यालय अनुगमनको अधिकार? कलैया शिक्षा शाखाको निर्णय विवादमा

बारा –  कलैया उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन गर्न निजी संस्था ‘जेनेजी एण्ड युथ अफ बारा’ लाई अनुमति दिएपछि यसको कानुनी आधारबारे प्रश्न उठेको छ।
शिक्षा शाखाबाट जारी पत्र (चलानी नं. ८५४६, मिति २०८३/०३/१५) अनुसार उक्त संस्थाले दिएको निवेदनका आधारमा विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको सिकाइ अवस्था, विद्यालयको शैक्षिक वातावरण तथा समस्याबारे जानकारी लिन प्रतिनिधिहरूलाई विद्यालयमा प्रवेश गरी अनुगमन गर्न अनुमति प्रदान गरिएको उल्लेख छ। पत्रमा सरोज पाण्डे, सुरज बन्ताल, अशोक पण्डित, सौरभ पाण्डेय, ऋतिक साह र आनन्दलाई अनुगमन टोलीका रूपमा उल्लेख गरिएको छ।

शिक्षा शाखा प्रमुख राजीव कुमार यादवले भने यो अनुमति संस्थाको निवेदनकै आधारमा प्रदान गरिएको बताएका छन्। उनका अनुसार विद्यालयलाई अवरोध नगरी तथ्यगत जानकारी संकलन गर्ने उद्देश्यले मात्र अनुमति दिइएको हो।
तर, यस विषयमा शिक्षा क्षेत्रका जानकारहरूले भने विद्यालयको औपचारिक निरीक्षण तथा अनुगमन गर्ने अधिकार कानुनले तोकेका निकायलाई मात्र रहेको बताएका छन्।

कानुनी व्यवस्था के भन्छ?

प्रचलित शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ मा विद्यालयको निरीक्षण, अनुगमन र नियमन गर्ने अधिकार सम्बन्धित स्थानीय तह, शिक्षा समिति तथा तोकिएका अधिकारीहरूलाई दिइएको छ। नियमावलीमा विद्यालयको अनुगमन सरकारी संयन्त्रमार्फत हुने व्यवस्था छ, तर कुनै गैरसरकारी संस्था वा निजी व्यक्तिलाई केवल निवेदनका आधारमा औपचारिक “अनुगमन अनुमति” दिने स्पष्ट कानुनी व्यवस्था उल्लेख गरिएको देखिँदैन।

यसर्थ, शिक्षा शाखाले जारी गरेको यो अनुमति सूचना संकलनका लागि सहजीकरण मात्र हो वा कानुनी रूपमा औपचारिक अनुगमनको अधिकार प्रत्यायोजन हो भन्ने विषय स्पष्ट हुनुपर्ने सरोकारवालाहरूको भनाइ छ।यदि यो अनुमति विद्यालय निरीक्षणको अधिकार हस्तान्तरण गर्ने उद्देश्यले दिइएको हो भने त्यसको कानुनी आधार सार्वजनिक गर्नुपर्ने मागसमेत उठ्न थालेको छ।

शिक्षा प्रशासनसम्बन्धी जानकारहरूका अनुसार विद्यालयको नियमित अनुगमन स्थानीय तह, शिक्षा समिति तथा तोकिएका शिक्षा अधिकारीबाट हुने व्यवस्था रहेको छ र त्यसबाहेकको अधिकार प्रत्यायोजनका लागि स्पष्ट कानुनी आधार आवश्यक पर्ने हुन्छ। कलैया उपमहानगरपालिकाको नगर प्रमुख बिनोद साह भारत भ्रमण गएको मौका छोपि कलैया उपमहानगरपालिका शिक्षा शाखाले यस्तो पत्रचार गरेको बुझिन्छ । नगर प्रमुख बिनोद साह संग यो बिषयमा जानकारी लिन खोज्दा वहाँको मोबाइल अफ रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button