
कलैया, बारा – मधेश प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार विकास कार्यालय, बाराले आर्थिक वर्ष २०८३/०८४ का लागि जिल्ला दररेट निर्धारण प्रक्रिया सुरु गरेको छ।
कार्यालयले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४८ बमोजिम निर्माण सामग्री, ढुवानी दररेट तथा ज्यालाको दररेट निर्धारण गर्नुपर्ने भएकाले सम्बन्धित सबै सरोकारवालासँग सुझाव मागेको हो। कार्यालयले जारी गरेको सूचनाअनुसार आगामी आर्थिक वर्षका लागि निर्धारण गरिनुपर्ने दररेट, त्यसको आधार तथा औचित्यसहितका सुझाव पेश गर्न आग्रह गरिएको छ। साथै आवश्यक ठानेमा नयाँ आइटम थप गर्नुपर्ने विषयमा समेत सुझाव दिन सकिने उल्लेख गरिएको छ।
इच्छुक व्यक्ति, निर्माण व्यवसायी, आपूर्तिकर्ता तथा सम्बन्धित सरोकारवालाले २०८३ साल असार २४ गतेभित्र आफ्नो सुझाव कार्यालयको इमेल idobara53@gmail.com मा पठाउन वा कार्यालयमै उपलब्ध गराउन सक्ने जनाइएको छ।
पूर्वाधार विकास कार्यालय, बाराले प्राप्त सुझावका आधारमा जिल्लाको निर्माण सामग्री, ढुवानी तथा ज्यालासम्बन्धी दररेट निर्धारण प्रक्रिया अघि बढाइने जनाएको छ। साथै उक्त सूचना व्यापक रूपमा सम्प्रेषण गरिदिन जिल्ला प्रशासन कार्यालय, बारालाई समेत अनुरोध गरिएको छ।




