राष्ट्रियसमाचार

बागमती नदी किनारमा पुनः गिट्टी–बालुवा उत्खनन भएको आरोप

प्रेमचन्द्र झा
असार १५ गते

रौतहट – रौतहटको राजदेवी नगरपालिका–९, ब्रह्मपुरीस्थित बागमती नदी किनारमा पुनः गिट्टी–बालुवा उत्खनन भएको भन्दै स्थानीय समाजसेवी शैलेन्द्र सिंहले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उनका अनुसार असार ८ गते नदी किनारबाट पुनः गिट्टी–बालुवा उत्खनन गरिएको छ। यस विषयमा स्थानीय प्रशासन, स्थानीय तह तथा नदी नियन्त्रण कार्यालय मौन बसेको आरोप लगाउँदै उनले सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठाएका छन्।

सिंहले विगत करिब एक दशकदेखि ठोकर निर्माण तथा बाँध मर्मतका नाममा केही ठेकेदार, बिचौलिया र सम्बन्धित पक्षबीच मिलेमतो भई विकास बजेटको दुरुपयोग हुँदै आएको दाबी गरेका छन्। उनले नदी उत्खननका कारण बाँध कमजोर भई वर्षायाममा बागमती, लालबकैया र झाँझ नदीमा आउने बाढीबाट बाँध भत्किने जोखिम बढ्न सक्ने बताएका छन्। यसबाट ब्रह्मपुरीसहित आधा दर्जन गाउँ र सदरमुकाम गौर डुबानमा पर्न सक्ने उनको भनाइ रहेकोे छ।

विशेषगरी दलित समुदाय बढी प्रभावित हुन सक्ने उल्लेख गर्दै सिंहले संघीय सरकारसँग घटनाको निष्पक्ष छानबिन, नदी उत्खनन नियन्त्रण तथा दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

यस सम्बन्धमा स्थानीय प्रशासन, राजदेवी नगरपालिका, नदी नियन्त्रण कार्यालय तथा अन्य सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button