राष्ट्रियशिक्षासमाचार

बारामा संघीय अनुदान शिक्षकहरू एकताबद्ध, जिल्ला समिति गठन गर्दै शिक्षा जस्तो सस्थालाई विभेद गरेकोमा संघर्ष गर्ने चेतावनी

बारा, असार १३
बारामा संघीय अनुदान शिक्षण सहयोग कार्यक्रमअन्तर्गत कार्यरत अंग्रेजी, गणित तथा विज्ञान विषयका शिक्षकहरू संगठित भएका छन्। जिल्लाका शिक्षकहरूले आफ्नो पेशागत सशक्तीकरण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा साझा हितका विषयमा समन्वय गर्ने उद्देश्यले २१ सदस्यीय जिल्ला समिति गठन गरेका हुन्।

शनिबार बाराको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल गढीमाई मन्दिर परिसरमा आयोजित भेलाले सन्तोष कुमार जयसवालको अध्यक्षतामा “संघीय अनुदान शिक्षण सहयोग बारा” जिल्ला समिति गठन गरेको हो। कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयमा कार्यरत माध्यमिक तथा निम्नमाध्यमिक तहका अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भेलामा सहभागी शिक्षकहरूले गुणस्तरीय शिक्षाको विकासमा आफूहरूको भूमिका अझ प्रभावकारी बनाउन आपसी सहकार्य, अनुभव आदान–प्रदान र पेशागत एकतालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै संघीय अनुदानअन्तर्गत कार्यरत शिक्षकहरूको सेवा–सुविधा, पेशागत सुरक्षा, स्थायित्व तथा सम्मानजनक व्यवस्थापनका विषयमा सम्बन्धित निकायसँग समन्वय गर्दै रचनात्मक पहल गर्ने निर्णय गरिएको जनाइएको छ।

नवगठित समितिको अध्यक्षमा सन्तोष कुमार जयसवाल चयन भएका छन्। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सुबोध पाण्डे र रवि चौरसिया, सचिवमा राजेश चौधरी, सह–सचिवमा दीपेन्द्र प्रसाद साह र विवेक प्रसाद पटेल, कोषाध्यक्षमा एकबालीशंकर प्रसाद साह तथा सह–कोषाध्यक्षमा राजेश्वर प्रसाद कुशवाहा चयन भएका छन्। विभिन्न पालिकाबाट प्रतिनिधित्व हुने गरी २१ सदस्यीय जिल्ला समिति गठन गरिएको आयोजकले जनाएको छ।

नवनिर्वाचित अध्यक्ष जयसवालले शिक्षकहरूको पेशागत क्षमता विकास, हकहित संरक्षण तथा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका लागि समिति सक्रिय रूपमा काम गर्ने बताए। उनले जिल्लाभरका शिक्षकबीच समन्वय बढाउँदै साझा सुझाव र मागहरू व्यवस्थित रूपमा सम्बन्धित निकायसम्म पुर्‍याइने जानकारी दिए।

समितिले निकट भविष्यमा जिल्लाका शिक्षकहरूसँग थप छलफल गरी साझा कार्ययोजना तथा मागपत्र तयार पारेर सम्बन्धित निकायमा बुझाउने निर्णयसमेत गरेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button