
काठमाडौं, असार १६ — नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेकाले इन्धनको खुद्रा बिक्री मूल्य घटाएको छ।
निगमका अनुसार भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. १५.०९, डिजेलमा रु. २९.१४६ र हवाई इन्धनमा समेत मूल्य घटेर आएको छ। सोही आधारमा निगम सञ्चालक समितिको असार १६ गतेको निर्णयअनुसार २०८३ असार १७ गते राति १२:०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरिएको हो।
नयाँ मूल्यअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु. १९४.५०, दोस्रो वर्गमा रु. १९६ र तेस्रो वर्गमा रु. १९७ कायम गरिएको छ। यसअघि क्रमशः रु. २१४.५०, रु. २१६ र रु. २१७ रहेको थियो। यसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटेको हो।
त्यसैगरी, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा रु. १९३.५०, दोस्रो वर्गमा रु. १९४ र तेस्रो वर्गमा रु. १९५ प्रतिलिटर कायम गरिएको छ। यसअघि क्रमशः रु. २११.५०, रु. २१२ र रु. २१३ रहेको थियो। यसअनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८ रुपैयाँले घटेको छ।
निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिलिटर रु. ४० ले घटाई रु. २२९ कायम गरेको जनाएको छ। अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धन र एलपी ग्यासको मूल्यमा पनि समायोजन गरिएको छ। एलपी ग्यासको मूल्य प्रति सिलिन्डर रु. १०० ले घटाइएको निगमले जनाएको छ।
निगमका अनुसार नयाँ मूल्य निगमका डिपो तथा कार्यालयबाट १५ किलोमिटरसम्मका क्षेत्रका लागि लागू हुनेछ। साथै, अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार आवश्यकताअनुसार आगामी दिनमा पनि मूल्य समायोजन गरिने जनाएको छ।



