भोला बाबा मन्दिर निर्माणको शिलान्यास, निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादवद्वारा शुभारम्भ

धिरेन्द्र तिवारी
महोत्तरी, १२ जेष्ठ – महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–८ सिंहासनी पछियारी कुट्टीमा भोला बाबा मन्दिर निर्माण कार्यको शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य मा. सरोज कुमार यादवले विधिवत रूपमा पूजा–अर्चना गरी मन्दिर निर्माण कार्यको शिलान्यास गर्नु भएको हो।
स्थानीय धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त क्षेत्रमा निर्माण हुन लागेको भोला बाबा मन्दिरले धार्मिक पर्यटन प्रवर्द्धनका साथै स्थानीय समुदायमा आध्यात्मिक वातावरण थप मजबुत बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा बोल्दै निवर्तमान मुख्यमन्त्री यादवले धार्मिक सम्पदाको संरक्षण र विकास सबैको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता धार्मिक स्थलहरूले समाजमा सद्भाव, एकता र संस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।
उहाँले मन्दिर निर्माण कार्य समयमै सम्पन्न गर्न आवश्यक सहयोग र सहकार्यका लागि आफू सदैव सकारात्मक रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, धार्मिक अगुवा तथा ठूलो संख्यामा स्थानीय श्रद्धालुहरूको उपस्थिति रहेको थियो।
शिलान्यास कार्यक्रम वैदिक मन्त्रोच्चारणसहित सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले मन्दिर निर्माण कार्य सुरु भएकोमा खुशी व्यक्त गर्दै यसले क्षेत्रको धार्मिक पहिचान अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन्।
भोला बाबा मन्दिर निर्माण सम्पन्न भएपछि सिंहासनी पछियारी कुट्टी क्षेत्र धार्मिक आस्थाको केन्द्रका रूपमा थप परिचित हुने स्थानीयहरूको अपेक्षा रहेको छ।



