प्रदेश खबरराष्ट्रियसमाचार

पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धीकरणको माग गर्दै धर्ना

जेष्ठ – १२ –वीरगञ्ज – नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालय अगाडि सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता निष्पक्ष रूपमा वितरण गर्नुपर्ने मागसहित मंगलबार धर्ना कार्यक्रम सम्पन्न गरिएको छ।

महासंघका पूर्व अध्यक्ष अनुप तिवारीको नेतृत्वमा आयोजित धर्ना कार्यक्रममा सहभागी पत्रकारहरूले महासंघको सदस्यता वितरण प्रक्रियामा पारदर्शिता निष्पक्षता र मापदण्डको पालना हुनुपर्ने माग गरेका छन्। उनीहरूले वास्तविक रूपमा पत्रकारिता गरिरहेका सञ्चारकर्मीलाई प्राथमिकता दिई सदस्यता वितरण गर्नुपर्नेमा जोड दिएका थिए।

धर्नाका क्रममा वक्ताहरूले पत्रकार महासंघ जस्तो पेशागत संस्थाको विश्वसनीयता कायम राख्न सदस्यता प्रक्रियालाई शुद्ध र पारदर्शी बनाउन आवश्यक रहेको बताएका छन्। उनीहरूले कुनै राजनीतिक व्यक्तिगत वा समूहगत प्रभावका आधारमा सदस्यता वितरण गर्न नहुने धारणा राख्दै वास्तविक पत्रकारलाई मात्र महासंघमा समेट्नुपर्ने बताए।

पूर्व अध्यक्ष अनुप तिवारीले महासंघको गरिमा जोगाउन सदस्यता शुद्धीकरण अनिवार्य रहेको उल्लेख गर्दै निष्पक्ष ढंगबाट नयाँ सदस्यता वितरण नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिने चेतावनी दिएका छन्।
धर्ना कार्यक्रममा पर्साका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो । सहभागीहरूले महासंघको नेतृत्वलाई पत्रकारहरूको भावना अनुसार निर्णय लिन आग्रह गरेका छन!

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button