आज देशका विभिन्न स्थानमा हावाहुरी र चट्याङ्गको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं, जेठ ११— देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज देशका विभिन्न स्थानहरुमा हावाहुरी, मेघगर्जन तथा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी तराई तथा भित्री मधेसका जिल्लामा हावाहुरी र चट्याङ्गको जोखिम बढी रहने जनाइएको छ।
मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा लगायत जिल्लामा अपराह्नपछि मौसम बदली भई तीव्र हावाहुरीसहित चट्याङ्ग पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। यस्तै कोशी प्रदेशका तराई तथा पहाडी भू–भागमा समेत मौसम आंशिकदेखि सामान्य बदली रहनेछ।
बागमती र गण्डकी प्रदेशका पहाडी जिल्लामा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
मौसम विभागले विशेषगरी खुला स्थानमा काम गर्ने किसान, यात्रु, सवारी चालक तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। चट्याङ्गको समयमा रुखमुनि नबस्न, विद्युतका पोल तथा खुला स्थानबाट टाढा रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
यस्तै हावाहुरीका कारण कमजोर संरचना, टिनका छाना तथा विद्युत सेवा प्रभावित हुन सक्ने भएकाले स्थानीय तह र सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन पनि विभागले सुझाव दिएको छ।
रातिको समयमा पनि देशका केही स्थानमा मौसम बदली रहने तथा मेघगर्जनसहित वर्षा जारी रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



