प्रेस मञ्च नेपाल मधेश प्रदेशद्वारा मानिकचन साहलाई तोके विशेष जिम्मेवारी

जेष्ठ – ११
जनकपुरधाम – प्रेस मञ्च नेपाल मधेश प्रदेश कार्य समितिले बारा जिल्लामा संगठन विस्तार तथा जिल्ला अधिवेशन सफल बनाउन कलैया उपमहानगरपालिका–२३ बारा निवासी मानिकचन साहलाई विशेष जिम्मेवारी प्रदान गरेको छ ।
प्रेस मञ्च नेपाल मधेश प्रदेश कार्य समितिको सचिवालयको निर्णयअनुसार साहलाई बारा जिल्ला संयोजकसँग समन्वय गरी जिल्ला अधिवेशन सम्पन्न गराउने जिम्मेवारी तोकिएको हो । साथै प्रचार–प्रसार, समाचार सम्प्रेषण तथा जिल्लामा सञ्चालन हुने संगठनात्मक गतिविधिहरूको समन्वय र व्यवस्थापन गर्ने दायित्व समेत प्रदान गरिएको छ ।
मधेश प्रदेश कार्य समितिका अध्यक्ष अमरेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित पत्रमार्फत संगठनको हितमा सक्रिय भएर कार्य गर्न आग्रह गरिएको छ । पत्रमा साहको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै संगठन विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत लिइएको उल्लेख गरिएको छ
२०८३ साल जेठ ५ गते जारी गरिएको उक्त पत्रको बोधार्थ प्रेस मञ्च नेपाल केन्द्रीय समिति काठमाडौंलाई समेत दिइएको छ ।
प्रेस मञ्च नेपालले मधेश प्रदेशभर पत्रकारहरूको हकहित, प्रेस स्वतन्त्रता तथा संगठन सुदृढीकरणका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । मानिकचन साहलाई दिइएको नयाँ जिम्मेवारीले बारा जिल्लामा संगठनलाई अझ सक्रिय, प्रभावकारी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।




