प्रदेश खबरराष्ट्रियसमाचार

दलालमुक्त बनाउन मुद्दा शाखामा कडाइ, प्रहरी निरीक्षक भट्टको कदमपछि बिचौलियामा हलचल

 

जेष्ठ – ९  बारा — जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा पछिल्लो समय देखिएको परिवर्तनले सेवाग्राहीलाई राहत मिलेको छ भने वर्षौंदेखि सक्रिय दलाल तथा बिचौलियाहरूको गतिविधिमा ब्रेक लागेको छ। मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक सुरेश राज भट्टले सेवा प्रवाहलाई व्यवस्थित र पारदर्शी बनाउन थालेपछि बिचौलिया समूहमा बेचैनी बढेको चर्चा सुरु भएको छ।

प्रहरी कार्यालयमा मुद्दा सम्बन्धी कामका लागि आउने सर्वसाधारणलाई अनावश्यक रूपमा अल्झाउने, “छिटो काम गराइदिन्छु” भन्दै रकम असुल्ने तथा पहुँचको नाममा प्रभाव जमाउने प्रवृत्तिलाई नियन्त्रण गर्न निरीक्षक भट्टले कडा निगरानी सुरु गर्नुभएको बताइएको छ। शाखाभित्र सेवाग्राही र प्रहरीबीच प्रत्यक्ष समन्वय हुने वातावरण बनाइएपछि बाहिरी व्यक्तिको चलखेल घटेको छ। कार्यालय परिसरमा अनधिकृत रूपमा घुम्ने तथा सेवाग्राहीलाई प्रभावमा पार्ने व्यक्तिमाथि निगरानी बढाइएको स्रोतको भनाइ रहेको छ।

यसअघि मुद्दा शाखामा सामान्य कामका लागि पनि बिचौलियाको सहारा लिनुपर्ने गुनासो आउने गरेको थियो। तर पछिल्ला दिनमा प्रक्रिया स्पष्ट बनाइएपछि सेवाग्राही आफैंले सहज रूपमा काम गराउन थालेका छन्।  सेवाग्राहीले बिना  खर्च र कुनै दबाबमा नपरी आफ्नो काम सम्पन्न भइरहेको बताएका छन्। प्रहरी निरीक्षक भट्टले कानूनी प्रक्रिया अनुसार निष्पक्ष ढंगले काम गर्ने नीति अपनाएपछि केही दलाल समूह असन्तुष्ट बनेको चर्चा पनि भइरहेको छ। स्रोतका अनुसार उहाँले “नियमभन्दा बाहिर कुनै पनि सिफारिस वा दबाब स्वीकार नगर्ने” अडान लिँदै आउनुभएको छ।

प्रहरी संगठनभित्र सुशासन कायम गर्दै सेवामा पारदर्शिता ल्याउने प्रयासस्वरूप गरिएको यो कदमलाई स्थानीयले सकारात्मक रूपमा लिन थालेका छन्। मुद्दा शाखामा देखिएको सुधार अब सर्वसाधारणले सहज र विश्वसनीय सेवा सहित आफ्नो काम गराई रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button