रास्वपाको बारा विस्तारित बैठक होटलमा हुँदा विवाद, कार्यकर्ता र सर्वसाधारणबीच चर्कियो असन्तुष्टि।
कलैया, – ९ बारा / – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाले कलैया उपमहानगरपालिका स्थित करण राज होटलमा आयोजना गरेको विस्तारित बैठक विवादमा तानिएको छ। शनिबार आयोजित उक्त कार्यक्रमलाई लिएर पार्टीभित्रै तथा सर्वसाधारण तहबाट विभिन्न प्रश्न उठ्न थालेका छन्।
रास्वपाले “साधारण नागरिकको पार्टी” भन्ने पहिचान बनाउँदै आएको अवस्थामा महँगो होटलमा कार्यक्रम आयोजना गरिएको भन्दै केही कार्यकर्ता तथा स्थानीयले असन्तुष्टि जनाएका हुन्। कार्यक्रममा जिल्ला तथा पालिका तहका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। बैठकमा संगठन विस्तार, आगामी रणनीति तथा जिल्लाको राजनीतिक अवस्थाबारे छलफल गरिएको बताइएको छ।
तर कार्यक्रम सम्पन्न भइरहँदा सामाजिक सञ्जालमा होटल छनोटको विषयलाई लिएर आलोचना सुरु भयो। आलोचकहरूले आर्थिक मितव्ययिता र पारदर्शिताको नारा दिने पार्टीले तारे होटल शैलीको व्यवस्थापन गर्नु “विरोधाभासपूर्ण” भएको टिप्पणी गरेका छन्। केही कार्यकर्ताले नाम नखुलाउने सर्तमा भने, “रास्वपाले नयाँ राजनीतिक संस्कारको कुरा गर्छ, तर कार्यक्रमको शैली पुरानै दलजस्तो देखिन थाल्यो,” भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे।
यता पार्टीका केही नेताहरूले भने कार्यक्रम सञ्चालनका लागि उपयुक्त हल र व्यवस्थापन आवश्यक भएकाले होटल प्रयोग गरिएको बताएका छन्। उनीहरूका अनुसार ठूलो संख्यामा सहभागी व्यवस्थापन गर्न सहज हुने भएकाले कारण राज होटल रोजिएको हो। कार्यक्रममा सहभागी केही स्थानीयले भने होटलभित्र व्यवस्थापन कमजोर भएको, भीड नियन्त्रण प्रभावकारी नभएको तथा कार्यक्रम अपेक्षाअनुसार व्यवस्थित हुन नसकेको गुनासो गरेका छन्। बैठक स्थल बाहिर समेत कार्यकर्ताबीच सामान्य भनाभन भएको प्रत्यक्षदर्शीले बताएका छन्।
रास्वपा बारा समितिले भने विवादलाई सामान्य रूपमा लिन आग्रह गर्दै पार्टी विस्तार र संगठन सुदृढीकरण नै बैठकको मुख्य उद्देश्य रहेको जनाएको छ। पार्टी स्रोतका अनुसार बैठकबाट जिल्लामा संगठन विस्तार अभियानलाई तीव्र बनाउने निर्णय गरिएको छ। यस घटनापछि सामाजिक सञ्जालमा “नयाँ पार्टीको पुरानो शैली” भन्ने टिप्पणीहरू व्यापक रूपमा फैलिएका छन्। राजनीतिक विश्लेषकहरूले भने जनअपेक्षाअनुसार व्यवहार नगरे नयाँ दलहरूमाथि पनि प्रश्न उठ्न सक्ने बताएका छन्।



