मधेश सरकार पुनर्गठन, एमालेका महमम्द समिर मन्त्री नियुक्त

जेष्ठ – ८
बारा – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा एमालेका प्रदेशसभा सदस्य मोहम्मद समिर लाई सरकारमा सहभागी गराएका छन्। समिरलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको हो।
नवनियुक्त मन्त्री समिरले बिहीबार राति मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्ण बाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। मुख्यमन्त्री यादवले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा एमालेलाई सरकारमा सहभागी गराएका हुन्।
मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा यसअघि जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तथा श्रम तथा यातायात मन्त्री मनिष सुमन सहभागी थिए। तर सत्ता समीकरण परिवर्तन हुने संकेतसँगै मुख्यमन्त्री यादवले उनीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सम्बन्धित मन्त्रीहरूले राजीनामा नदिएपछि उनीहरूलाई पदमुक्त गर्दै नयाँ मन्त्री नियुक्ति प्रक्रिया अघि बढाइएको हो। यही क्रममा एमालेका समिरलाई मन्त्रीमा नियुक्त गरिएको बताइएको छ।
बारा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट प्रत्यक्ष निर्वाचित समिर लामो समयदेखि बाराको राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। उनी एमालेभित्र मधेश प्रदेशमा प्रभावशाली युवा नेताका रूपमा चिनिन्छन्। सरकारमा उनको प्रवेशसँगै मधेश प्रदेशको सत्ता समीकरण थप स्पष्ट हुने राजनीतिक विश्लेषण गरिएको छ।
विश्वासको मत लिनुअघि गरिएको मन्त्रिपरिषद् पुनर्गठनलाई मधेश प्रदेश सरकारको नयाँ राजनीतिक समीकरणको संकेतका रूपमा हेरिएको छ। केन्द्रमा विकसित राजनीतिक समीकरणअनुसार प्रदेश सरकारमा समेत फेरबदल सुरु भएको राजनीतिक वृत्तमा चर्चा छ।
मुख्यमन्त्री यादवले विश्वासको मत सुरक्षित गर्न एमालेसँग सहकार्यको रणनीति अपनाएको बुझिएको छ। अब प्रदेशसभामा हुने विश्वासको मतको परिणामले मधेश प्रदेश सरकारको आगामी दिशा निर्धारण गर्ने छ ।



