प्रदेश खबरराजनीतिसमाचार

प्रतिनिधि सभा सदस्य उम्मेदवार ज्वालाकुमारी साहको घरदैलो अभियान : सेवा, सुशासन र समृद्धिको स्पष्ट प्रतिबद्धता

फगुन- २०८२-११-१८

बडहर्वा –जितपुर सिमरा उपमहानगरपालिका (बारा)
नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा सूर्यध्वजावाहक प्रतिनिधि सभा सदस्य उम्मेदवार ज्वालाकुमारी साहले आइतबार जितपुर सिमरा उपमहानगरपालिका–१७ र १८ का विभिन्न टोलहरूमा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्। उनले टोलटोलमा पुगेर स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, कार्यक्रम र आगामी योजनाहरू प्रस्तुत गरिन्।

साहले कृषिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा व्याख्या गर्दै भनिन्— “किसानका समस्या समाधान बिना समृद्धि सम्भव छैन।” उनले मल, बीउ र सिँचाइको सहज आपूर्ति, कुलो सुधार, डिप ट्युबवेल विस्तार, उत्पादन संकलन केन्द्र र शीतभण्डार निर्माणमार्फत कृषि आत्मनिर्भरता हासिल गर्ने प्रतिवद्धता जनाइन्। साथै, शिक्षा र स्वास्थ्य क्षेत्रमा समान पहुँच र गुणस्तर सुधार, विद्यालयमा आवश्यक जनशक्ति, उपकरण र पूर्वाधार निर्माण, ग्रामीण स्वास्थ्य चौकीमा सेवा विस्तार र निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिन्। युवालाई स्थानीय उद्योगमार्फत रोजगारी सिर्जना गर्ने, महिलालाई सीपमूलक तालिमद्वारा आत्मनिर्भर बनाउने, दलित, बालबालिका र वृद्धवृद्धाका लागि विशेष अनुदान, सामाजिक सुरक्षा, आवास तथा पोषण कार्यक्रम सञ्चालन गर्ने उनको स्पष्ट प्रतिबद्धता रहेको छ।
भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुता नीति, सडक, नाला र खानेपानी विस्तार, सहकारी सुदृढीकरण र सुशासनलाई प्राथमिकता दिने उनको घोषणाले स्थानीय नागरिकहरूमा उत्साह जगाएको थियो। सोही अवसरमा प्रदेशसभा सदस्य रविन्द्र दास श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष अध्यनन्द पाण्डे, पार्टी सचिव अमृत शर्मा बजगाई, प्रचार विभाग प्रमुख पुरुषोत्तम शाह, युवा संघ नेपाल बारा अध्यक्ष श्रद्धाम अंसारी, एम. समिउल्लाह, शर्मा बैठा, राजेश साह, हरेराम चौधरी, सञ्जय चौधरी, लक्ष्मण चौधरी, महादेव चौधरी, यमनाथ ढकाल, तेजनारायण चौधरी, चयन गुरुङ, गीता कार्की, तेजप्रसाद चौधरी, राजकुमार अर्याल, किशोर शाह शर्मा, रामचन्द्र पौडेल, चन्द्र विक, रविन्द्र राज भण्डारी, अनिल मैनाली, गोविन्द अधिकारी, अर्जुन दाहाल, मोहन लामिछाने, नेशनल भोलेन्टियर फोर्सका मधेस प्रदेश इन्चार्ज नवराज बस्नेत, प्रदेश अध्यक्ष बिमल भारती, क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष बसन्त खतिवडा, निर्मल भारती, कमला रेग्मी, भीम लामा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा रविन्द्र दास श्रेष्ठले बडहरवामा रङ्गशाला निर्माण, परास टोलदेखि सडकसम्मको ढलान, वडा नं. १८ मा ज्वाला साहको सिफारिसमा सहकारीलाई सहयोग गरिएको लगायतका विकास गतिविधिहरूको विवरण प्रस्तुत गरे। घरदैलो कार्यक्रम रामनगर, जैतापुर, बडहरवा, लामिडाँडा,पसाहा टोल, कुश्माणि, उचिडिह, परास टोल लगायतका बस्तीहरूमा सम्पन्न भएको थियो। घरदैलो कार्यक्रम सम्पन्न भएपछि बडरवाबाट सुरु भएको मोटरसाइकल र्याली बडहरवा, लामिडाँडा, वडा नं. १७ र १८ का टोल–टोल हुँदै सम्पन्न भएको थियो।

कार्यक्रमको अन्त्यमा ज्वालाकुमारी साहले भनिन्— “हाम्रो अभियान सेवा, सुशासन र समृद्धिको लागि हो। आगामी निर्वाचनमा सूर्यमा मत दिएर जनताको सपना साकार पार्न सबैमा आग्रह गर्दछु।” उनले प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा बारा क्षेत्र नं. ३ का लागि प्रस्तुत गरेका एजेन्डाहरूमा कृषि आत्मनिर्भरता र किसान समृद्धि, शान्ति, पर्यटन र सामाजिक अर्थतन्त्र, सीमा व्यापार र आर्थिक गतिविधि विस्तार, महिला सामाजिक तथा आर्थिक सशक्तीकरण, युवा रोजगारी, उद्यमशीलता, सुशासन र डिजिटल सरकार, खेलकुद, नवप्रवर्तन र युवा नेतृत्व विकास, ज्येष्ठ नागरिक सम्मान र सामाजिक सहभागिता, शिक्षा, उत्पादन र वन–आयआर्जन लगानी, पूर्वाधार, ऊर्जा र कनेक्टिभिटी विकास, शिक्षा अनुसन्धान र ज्ञान–आधारित समाज, समग्र सुकुम्बासी समस्या समाधान र बस्तीको उचित व्यवस्थापन तथा सामाजिक सद्भाव, समावेशिता, दिगो विकास र सुलभ स्वास्थ्य सेवा प्रमुख रहेका छन्।
उनको भनाइमा, “हाम्रो अभियान जनताको अपेक्षा अनुसारको सेवा, पारदर्शी शासन र दिगो समृद्धिको आधारशिला बन्नेछ।” घरदैलो र मोटरसाइकल र्यालीमा स्थानीय नेता, कार्यकर्ता र नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button